
३५ प्रतिशत ग्राहकले मात्र तिर्छन् अनलाइनमार्फत विद्युत महशुल
गोरखाका करिब ३५ प्रतिशत ग्राहकले मात्र अनलाइनमार्फत विद्युत महशुल तिर्ने गरेका छन् । केन्द्रीय प्रशारण लाइनको विद्युत उपभोग गर्ने १० गाउँपालिकाका ६० हजार २२९ ग्राहकमध्य करिब ६५ प्रतिशत ग्राहकले काउण्टरमै गएर महशुल तिर्ने गरेका प्राधिकरणको गोरखा वितरणकेन्द्र प्रमुख राम आशिष शाहले जानकारी दिए ।
जिल्लामा गोरखा वितरण केन्द्र, पालुङटार वितरण केन्द्र, मझुवा वितरण केन्द्र र आरुघाट वितरण केन्द्रबाट महशुल संकलन गर्ने गरिन्छ । साथै सातवटा विद्युत सहकारीले पनि महशुल संकलन गर्ने गर्दछन् । ‘गोरखा वितरण केन्द्र माताहतका गोरखा, मझुवा र पालुङटार काउण्टर अन्तर्गत ५२ हजार ६१६ ग्राहक छन्’, वितरण केन्द्र प्रमुख शाह भन्छन्, ‘विभिन्न महिनाको भुक्तानी अभिलेख हेर्दा ३० देखि ४० प्रतिशतले मात्र अनलाइनबाट महशुल तिर्छन् । पछिल्लो भदौ महिनाको हेर्दा ४१.०८ प्रतिशत ग्राहकले अनलाइनबाट बिल तिरेको देखिन्छ ।’
आरुघाट वितरण केन्द्रसंग अवद्ध सातहजार ६१३ ग्राहक छन् । उनीहरुमध्य ६५ प्रतिशतले काउण्टरमै आएर बिल भुक्तानी गर्ने केन्द्र प्रमुख प्रकाश काफ्ले बताउँछन् । सातहजार ६१३ ग्राहक रहेका आरुघाटका भने ३९.६४ प्रतिशत ग्राहकले अनलाइनमार्फत तिर्ने सो केन्द्रका प्रमुख प्रकास काफ्लेको भनाइ छ । सो केन्द्रमा आरुघाट गाउँपालिका, भीमसेनथापा गाउँपालिका, धार्चे गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका केही ग्राहकले महशुल तिर्ने गर्छन् ।
जिल्लाका ११ स्थानीय तहमध्य चुमनुब्री गाउँपालिका र धार्चेका केहीले लघु जलविद्युत प्रयोग गर्ने गर्छन् । लघु जलविद्युतको महशुल बिल स्थानीय स्तरमै संकलन र व्यवस्थापन हुने गर्छ । भीमसेनथापा, बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकाका केही वडामा विद्युत सहकारीले महशुल संकलन र व्यवस्थापन गर्ने गर्छ ।
तीबाहेक १० वटा पालिकाका ग्राहकहरुले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महशुल तिर्ने गर्दछन् । ‘अझै पनि हाम्रा दुई तिहाइ ग्राहक काउण्टरमै आएर महशुल तिर्नुहुन्छ’, गोरखा वितरण केन्द्र प्रमुख शाह भन्छन्, ‘कुनै महिना ३० प्रतिशत, कहिले ३५ प्रतिशत ग्राहकले अनलाइनबाट तिरेको देखिन्छ । अहिलेसम्म अनलाइनबाट तिर्ने ग्राहक ४० प्रतिशत पु¥याउन सकेको छैन ।’
अनलाइनबाट महशुल तिर्न धेरै प्रचारप्रसार गरे पनि सन्तोषजनक नदेखिएको गोरखा वितरण केन्द्र प्रमुख शाहको भनाइ छ । ‘अनलाइनबाट महशुल तिर्दा काउण्टरसम्म आउने, जाने समयको बचत, बाटोखर्चको बचत हुने भयो । लाइन बसिरहनु नपर्ने, खुद्रा पैसाको झञ्झट नहुने भएकाले अनलाइनबाटै तिर्नुस् भनेर हामीले प्रचार प्रसार गरिरहेका छौँ’, उनी भन्छन्, ‘तर ग्राहकहरु काउण्टरमै आएर तिर्न सहज मान्नुहुन्छ । सचेत ग्राहकहरुले अरु ग्राहकहरुमा पनि जनचेतना फैलाउनु पर्ने देखिएको छ ।’




