| आइतवार, अशोज २४, २०८३

गोरखाका सात सयभन्दा धेरै कुकुर, बिरालोलाई रेबिजविरुद्धको खोप लगाइयो

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखाले जिल्लाभरका सात सयभन्दा धेरै कुकुर, बिरालोलाई रेबिजबिरुद्धको खोप लगाएको छ । विश्व रेबिज दिवस २०८३ को अवसरमा कार्यालयले ११ वटा स्थानीय तहहरुसँग समन्वय गरी रेबिज बिरुद्धको खोप अभियान संचालन गरेको हो ।

सो अभियानअन्तरगत जिल्लाभरका सातसय ३५ कुकुर र ५२ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखाका प्रमुख डाक्टर प्रकाश अधिकारीले जानकारी दिए । ‘जिल्लाभर तीनसय ३६ वटा सामुदायिक कुकुर, तीनसय ७१ घरपालुवा कुकुर र ५२ वटा बिरालोलाई रेबिज विरुद्धको खोप लगाएका छौँ’, उनले भने ।

कार्यालयले जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै आरुघाट गाउँपालिकाका एकसय ७५ वटा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाएको जनाएको छ । आरुघाटको ९४ सामुदायिक र ८१ घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पतालका प्रमुख प्रकाश अधिकारीको भनाइ छ ।

कार्यालयले सप्ताहव्यापी कार्यक्रम गरेर जिल्लामा विश्व रेबिज दिवस २०८३ मनाएको उनले जानकारी दिए । उनका अनुसार भेटेरिनरी अस्पतालले विभिन्न सचेतनामूलक कार्यक्रम, कुकुर तथा बिरालोको बन्ध्याकरण र रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गरेर दिवस मनाएको हो ।

‘सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव मृत्युदर शून्य बनाउने नेपाल सरकारको लक्ष्य र प्रतिबद्धतालाई सघाउन यो अभियान सञ्चालन गरिएको हो’, उनले भने, ‘गण्डकी प्रदेश सरकारले पशुहरूमा नियमित रूपमा पूर्ण खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि हामीले जिल्लाका ८० प्रतिशतभन्दा धेरै घरपालुवा पशुहरूलाई विभिन्न रोगहरू विरुद्ध खोप लगाउने लक्ष्य राखेका छौँ, जसमा रेबिज नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । साथै, कुकुरको संख्या नियन्त्रण गर्न यस वर्ष जिल्लाभर एक हजारभन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने योजना छ ।’

रेबिज विरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका विभिन्न विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको छ । यस्तै, विभिन्न पालिकाका जनप्रतिनिधिहरूका लागि विशेष अभिमुखीकरण तथा जनचेतना कार्यक्रम, एग्रोभेट व्यवसायी तथा पशु सेवा प्राविधिकहरू बीच अन्तरक्रिया लगायत कार्यक्रमहरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्