| सोमवार, अशोज १८, २०८३

प्रारम्भिक बालविकास शिक्षकहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न

सहिद लखन गाउँपालिका र प्लानेट इन्फ्यान्ट्स एन्ड डेभलपमेन्ट, फ्रान्सको संयुक्त आयोजनामा पालिकामा कार्यरत ४४ जना प्रारम्भिक बालविकास (इसिडी) शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भिक बालविकास शिक्षकहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

पहिलो चरणमा असोज १०, ११ र १२ गते तथा दोस्रो चरणमा असोज १६, १७ र १८ गतेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो । तालिमका क्रममा प्रारम्भिक बालशिक्षा तथा विकाससम्बन्धी राष्ट्रिय पाठ्यक्रम २०७७ (परिमार्जित २०८२), बालविकास कक्षाका न्यूनतम राष्ट्रिय मापदण्ड, बालविकास कक्षामा प्रारम्भिक सिकाई तथा विकास मापदण्ड तथा बालकक्षामा दैनिक सहजीकरण र व्यवस्थापन लगायतका विषयमा शिक्षकहरुलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

प्रारम्भिक बालविकास शिक्षकहरुलाई बालबालिकाको उमेर, आवश्यकता, रुचि र विकासका विविध पक्षलाई ध्यानमा राख्दै कक्षाकोठामा प्रभावकारी सिकाई वातावरण सिर्जना गर्न थप सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको पालिकाको शिक्षा शाखाले जनाएको छ । साथै, राष्ट्रिय मापदण्ड तथा पाठ्यक्रममा भएका पछिल्ला परिमार्जनबारे शिक्षकहरुलाई अद्यावधिक गराउँदै तिनलाई दैनिक शिक्षण सिकाई अभ्यासमा प्रभावकारी रूपमा प्रयोग गर्न सहजीकरण गरिएको थियो ।

समापन समारोहका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रमेश बाबू थापा मगरले आफ्ना पालिकाका इसिडी सहजकर्ताहरुलाई तालिम दिएर क्षमता अभिवृद्धि गराएकामा प्लानेट इन्फ्यान्ट्स एन्ड डेभलपमेन्ट, फ्रान्सप्रति आभार व्यक्त गरेका थिए ।
तालिममा सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप तथा नयाँ अभ्यासलाई आफ्ना कक्षाकोठामा प्रयोग गर्दा बालबालिकाको सिकाई, विकास र सहभागितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्