
सेवाग्राही खोज्दै गाउँपालिकाका कर्मचारी सहरतिर
प्रतीक्षा आले ।
दुरदराजका गाउँबस्तीबाट अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले जिल्लाका पालिकाहरुले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै उनीहरुको अभिलेख अद्यावधिक गर्न कर्मचारीहरुलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।
गत वर्षबाट गोरखाको बारपाक सुलिकोट, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौँ र चितवनका शहरहरुमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गर्न शिविर सञ्चालन सुरु गरेका छन् । उनीहरुले कर्मचारीको टोली खटाएर विभिन्न मितिमा शहरहरुमा शिविरि सञ्चालन गर्न सुरु गरेका हुन् ।
यसवर्ष उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पनि सेवाग्राहीको अभिलेख अद्यावधिक गर्न काठमाडौँमा घुम्ति शिविर सुरु गरेको छ । काठमाडौँ बस्ने चुमनुब्रीबासीलाई मध्यनजर गरेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण शिविर संचालन गरेको पालिका अध्यक्ष निमा लामाले बताए । स्वयम्भूमा रहेको चुम कल्याण समितिको कार्यालयमा घुम्ति शिविर संचालन गरेको उनले जानकारी दिए ।
‘शनिबार र आइतबार गरेर करिब १०२ जनाले सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गरे’, लामाले भने, ‘अहिले चुमनुब्रीको वडा नं ६ र ७ को मात्र नविकरण गरेका छौँ । यी दुई वडाको सकिने बित्तिकै अन्य वडाहरुको सुरु गर्छौँ ।’ वडा सचिवहरुलाई काठमाडौँमै खटाएर नविकरण घुम्ती शिविर संचालन गरेको पालिका अध्यक्ष लामाको भनाइ छ । ‘यहाँ नविकरणको काम सकिएपछि वडा कार्यालयहरुमा नविकरणको काम हुन्छ’, लामाले भने ।
चुमनुब्रीका अधिकांश पालिकाबासी काठमाडौँ बस्ने भएकाले उतैबाट सामाजिक सुरक्षा भत्ता नविकरणको काम सुरु गरेको पालिकाले जनाएको छ । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नविकरण गरिएको पालिकाहरुको भनाइ छ ।




