
बाह्रकिलोको अवैध संरचना हटाउन सातदिने अल्टिमेटम जारी, नहटाए बल प्रयोग गरिने
गोरखा नगरपालिका वडा नं ११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन अल्टिमेटम जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र सात दिनभित्र खाली गर्न त्यहाँका व्यपारीहरुलाई अल्टिमेटम दिएको हो ।
यही असार ३० गतेभित्र संरचना खाली नगरे आवश्यक बल प्रयोग गरिने कार्यालयले चेतावनी दिएको छ । यस्तै, वन क्षेत्र खाली नगर्ने तथा बाधा बिरोध गर्ने व्यक्ति÷संस्थालाई ‘वन ऐन–२०७६’ बमोजिम कडा कारबाही गरिने कार्यालयको भनाई छ ।
व्यवसायीहरुले विगत केही वर्षदेखि बाह्रकिलोको ओख्ले पाखा सामुदायिक वनक्षेत्र मिचेर अवैध संरचना निर्माण गरी व्यवसाय संचालन गर्दै आएका छन् । वनक्षेत्र तथा सडक मिचेर करिब ३५ वटा अवैध संरचनाहरु निर्माण भएका डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।


सामुदायिक वन समूह र गोरखा नगरपालिकाले पटक पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गर्दा व्यवासायीहरुले अटेर गरेपछि कार्यालयले अन्तिम सूचना जारी गरेर अल्टिमेटम दिएको उनले जानकारी दिए ।

‘यस्तो अवैध संरचना हटाउने जिम्मा वन उपभोक्ता समूह र स्थानीय सरकारको हो’, उनले भने, ‘तर, वन समूह र नगरपालिकाले पटक पटक सूचना निकाल्दा समेत व्यवसायीहरुले अटेर गर्नुभएपछि बाध्य भएर हामीले अल्टिमेटम जारी गरेका हौँ ।’ कार्यालयले संरचना हटाउनका लागि सूचना प्रकाशन तथा माइकिङ गर्ने उनले बताएका छन् ।
बाह्रकिलोको संरचना हटाएपछि वन क्षेत्र छुट्टाएर आवश्यक तारबार गरी संरक्षण गर्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख शाण्डिल्यको भनाई छ ।




