| बुधबार, बैशाख २९, २०८३

संरक्षणको पर्खाइमा वीरेन्द्रताल

गोरखाको सामागाउँस्थित वीरेन्द्र ताल प्रकृतिको एउटा अनुपम उपहार हो। समुद्री सतहबाट झन्डै ४,७ ०० मिटरको उचाइमा अवस्थित यो ताल मनास्लु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको मानव बस्तीसँगको सामीप्यता हो। सामान्यतया अन्य हिमतालहरू हेर्नका लागि गाउँबाट दिनभरको कठिन यात्रा गर्नुपर्ने हुन्छ, तर वीरेन्द्र ताल सामागाउँबाट मात्र आधा घण्टाको पैदल दूरीमा छ।

यही सुलभताले गर्दा यो ताल हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ। तर, विडम्बनाको कुरा के छ भने यो सुन्दर र रणनीतिक महत्वको हिमताल अहिले मासिने जोखिममा छ। एकातिर जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण हिमालहरू पग्लिने क्रम तीव्र छ, जसले गर्दा तालमा पानीको सतह र चाप अनपेक्षित रूपमा बढिरहेको छ। अर्कातिरतालको वरपरबाट खसिरहेका निरन्तरको पहिरोले तालको क्षेत्र बिस्तारै पुरिँदै र साँगुरिँदै गएको छ। यदि यही क्रम जारी रहने हो भने केही वर्षभित्रै यो सुन्दर तालको अस्तित्व केवल तस्बिरमा मात्र सीमित हुने देखिन्छ। तालको प्राकृतिक स्वरूप मात्र बिग्रिएको छैन, यसले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूमा त्रास समेत पैदा गरेको छ।

तालमा अचानक ठूलो पहिरो खस्दा वा पानीको मात्रा बढेर बाँध फुट्दा बुढीगण्डकी नदी किनारका बस्तीहरूमा अपूरणीय क्षति पुग्न सक्छ। वीरेन्द्र ताल केवल एउटा पर्यटकीय गन्तव्य मात्र होइन, यो स्थानीय जनजीवन र पारिस्थितिक प्रणालीको आधार पनि हो। यसको संरक्षणमा देखाइएको उदासिनता भोलिको विपत्तिको निम्तो हुन सक्छ। यस्तो संवेदनशील अवस्थामा पनि राज्यका तीनै तहका सरकारहरूको ध्यान पुग्न नसक्नु दुःखद पक्ष हो। स्थानीय सरकारले आफ्नो सीमित स्रोत र साधनका कारण मात्र यसको दीर्घकालीन संरक्षण गर्न सम्भव छैन।

त्यसैले, गण्डकी प्रदेश सरकार र संघीय सरकारले यसलाई राष्ट्रिय प्राथमिकताको योजनामा राख्न ढिलाइ गर्नु हुँदैन। त्यसैले तालको वर्तमान अवस्था र पहिरोको जोखिमबारे भूगर्भविद् र वातावरणविद्हरूको टोलीमार्फत विस्तृत अध्ययन गरिनुपर्छ । त्यस्तै पहिरो नियन्त्रणका लागि वैज्ञानिक पद्धति अपनाएर तटबन्ध निर्माण गर्ने र तालमा थुप्रिएको बालुवा(ढुङ्गा हटाउने कार्य तत्काल सुरु गरिनुपर्छ।

विपद् पूर्वतयारीस् तालको अवस्था अनुगमन गर्न आधुनिक सेन्सर जडान गर्ने र तल्लो तटीय क्षेत्रमा पूर्व(सूचना प्रणालीलाई थप प्रभावकारी बनाइनुपर्छ। प्राकृतिक सम्पदाको संरक्षण गर्नु भनेको भविष्यलाई सुरक्षित गर्नु हो। वीरेन्द्र ताललाई पहिरोको चपेटाबाट जोगाउन र यसको मौलिक सौन्दर्य कायम राख्न स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयकारी पहलकदमीको खाँचो छ।

प्रतिक्रिया दिनुहोस्