| बुधबार, बैशाख २९, २०८३

एसईई २०८२ : गोरखाका ६४.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण, पालुङटारको नतिजा जिल्लाकै उत्कृष्ट

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गोरखाबाट ६४.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यस वर्ष जिल्लाबाट एसईई दिएका परीक्षार्थीहरुमध्ये ६४.५ प्रतिशत गे्रडेड भएका हुन् ।

यसवर्षको एसईईमा जिल्लाबाट दुईजनाले ४ जिपिए ल्याएका निमित्त इकाई प्रमुख विश्वप्रकाश रेग्मीले बताए । गोरखा सदरमुकामस्थित द ओल्ड क्यापिटल माविका समिप थापा तथा बारपाक सुलिकोट गाउँपालिकाको शैलपुत्री माविका युनिक पनेरुले ४ जीपिए प्राप्त गरेका उनले जानकारी दिए ।

एसईईमा पालुङटार नगरपालिकाले जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गरेको छ । पालिकाभित्रका ८४.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका इकाइ प्रमुखले जानकारी दिए । सो पालिकाका पाँचवटा विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेका नगर शिक्षा अधिकारी मनोज नेपालीले बताए ।

वडा नं. २ को जनता मावि आँपपिपल, वडा नंं ९ को धर्मोदय मावि बिर्दी, युनाइटेड इङलिस बोर्डिङ स्कुल, ठाँटीपोखरी बालज्योति बोर्डिङ स्कुल तथा गोरखा इङलिस बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा प्राप्त गरेको नेपालीले जानकारी दिए ।
गोरखा नगरपालिकाको एसईई नतिजा ५२.६२ प्रतिशत रहेको छ । गोरखा नगरपालिकाबाट ४७७ जनाले एसईईमा सहभागिता जनाएकोमा ग्रेडेड विद्यार्थी सङख्या जम्मा २५१ रहेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।

गोरखा नगरपालिकाको सूर्यमुखी बोर्डिङ स्कुल छेवेटारले एसईईमा सतप्रतिशत नतिजा प्राप्त गरेको छ ।
जिल्लाको सिरानचोक गाउँपालिकाले एसईईमा ८०.१९ प्रतिशत नतिजा प्राप्त गरेको छ । पालिकाबाट २०२ जना परीक्षार्थीले एसईई दिएकामा १६२ जना उत्तीर्ण भएका पालिकाले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको एसईई नतिजा ४९.७७ प्रतिशत रहेको छ । उक्त पालिकाबाट २१९ जनाले एसईई दिएकामा १०९ जना मात्र उत्तीर्ण भएका छन् ।

ण्डकी गाउँपालिकाको एसईई नतिजा ६६.१५ प्रतिशत रहेको छ । पालिकाबाट २५० जना एसईईमा सहभागी भएकामा १६३ जना उत्तीर्ण भएका छन् ।

सहिदलखन गाउँपालिकाको एसईई नतिजा भने ६५.५ प्रतिशत रहेको छ । पालिकाबाट १९० जनाले परीक्षा दिएकोमा ८१ जना उत्तीर्ण भएका छन् ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको एसईई नतिजा ६३.५ प्रतिशत रहेको छ । धार्चेबाट १६२ जनाले एसईई परीक्षा दिएकोमा १०३ जना उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ ।

गोरखाको अजिरकोट गाउँपालिकाको एसईई नतिजा ७३.७९ प्रतिशत रहेको पालिकाको शिक्षा शाखाले जनाएको छ । त्यस्तै आरुघाट गाउँपालिकाबाट ३०४ जना एसईईमा सहभागी भएकामा ११९ जना उत्तीर्ण भएका छन् । गाउँपालिकाको एसईई नतिजा जम्मा ३९.१४ प्रतिशत रहेको छ ।

आरुघाट गाउँपालिकाको वडा नं १० फुलपाती भञ्ज्याङस्थित सिद्धदेवी माविको नतिजा शून्य (निल) रहेको पालिकाको भनाई छ ।

अजिरकोट गाउँपालिकाको एसईई नतिजा भने ७३.७३ प्रतिशत रहेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको एसईई नतिजा ८१.२ प्रतिशत रहेको छ । पालिकाको दुईवटा माध्यमिक विद्यालयहरुबाट ३२ जना विद्यार्थीहरुले एसईईमा सहभागिता जनाएकोमध्ये २६ जना उत्तीर्ण भएका बुद्ध माविका शिक्षक राजन सापकोटाले जानकारी दिए ।

एसईईमा जिल्लाबाट तीनहजार सात सय ९७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । नियमिततर्फ २९ सय ७२ जना तथा ग्रेडबृद्धितर्फको परीक्षामा आठ सय २५ जना विद्यार्थीहरु सहभागी जनाएको निमित्त इकाई प्रमुख विश्वप्रकास रेग्मीले बताए । जसमध्ये नियमिततर्फ २१ जना परीक्षार्थी अनुपस्थित थिए ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म एसईई संचालन भएको थियो । यस वर्षदेखि एसईईको उत्तरपुस्तिका पनि सम्बन्धित परीक्षा केन्द्रहरुमा नै जाँच गराइएको रेग्मीले जानकारी दिए । उनले भने, ‘परीक्षा केन्द्रहरुमा आवश्यक जनशक्ति व्यवस्थापन गरेर उत्तरपुस्तिका जाँच गरिएको हो । सरकारले एक महिनाभित्रै एसईईको नतिजा प्रकाश गर्ने नीति लिएपछि सोही अनुसार जिल्लामा पनि काम भयो ।’

एसईई परीक्षामा जिल्लाभरका १३५ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । एसईईमा गोरखा नगरपालिकाबाट मात्र २६ वटा विद्यालय सहभागी भएका थिए भने सबैभन्दा थोरै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाबाट दुईवटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए । चुमनुब्रीको बुद्ध मावि फिलिम र ल्हो मावि, ल्होले एसईईमा सहभागीता जनाएका हुन् ।

खुल्ला विद्यालय अन्तरगत यसवर्ष जिल्लाबाट १३ जना विद्यार्थीहरुले एसईई दिएका छन् । उनीहरु मध्ये १० जना नियमिततर्फका र बाँकी ३ जना ग्रेडबृद्धितर्फका थिए । जिल्ला शिक्षा कार्यालयले एसईई परीक्षा संचालनका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्रहरु तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्