
सामागाउँको शान, ‘यमच्छो’ अर्थात वीरेन्द्र ताल
प्रतीक्षा आले :
५० बर्षअघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यम च्छो’ भन्थे । २०३४ सालमा जब राजा वीरेन्द्र सामागाउँ भ्रमणमा गए, यमच्छो देखेर गदगद् भए, भावनामा डुबे अनि स्थानीयले महशुस गरे, ‘राजालाई मनास्लु बगेर जमेको यो ताल राजालाई धेरै नै मन परेछ ।’
राजा बिदा हुने बेला उनीहरुले हार्दिकताका साथ राजासंग भने, ‘हाम्रो यमच्छोको नाम आजदेखि हजूरको नामबाट राखिदियौँ ।’
राजा पनि खुशी भए, स्थानीयबासी पनि खुशी भए ।
चुमनुब्री १ सामागाउँभन्दा केही माथि, मनास्लुको काखमा अवस्थित सुन्दर ताललाई त्यसपछि सबैले वीरेन्द्रताल भन्न थालेको स्थानीय वीरबहादुर लामा बताउँछन् ।
मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्नुका मु्ख्य आकर्षणमध्य यो ताल पनि पर्दछ । गत वर्ष २०८२ भित्र करिब १५ हजार विदेशी पर्यटकहरुले मनासलु क्षेत्र भ्रमण गरेका थिए । जसमध्य दुई तिहाइ भन्दा धेरै पर्यटकहरुले मनासलु सर्किट अन्तरगतको सामागाउँ (नुब्री भ्याली) भ्रमण गरेको एमक्यापको तथ्याकंमा उल्लेख छ । यसरी वर्षेनी ठुलो संख्यामा पर्यटकहरु सामागाउँ भ्रमण गर्नुको मुख्य उद्देश्य हो वीरेन्द्र ताल सामागाउर मनासलु हिमाल ।
चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँमा अवस्थित मनासलु हिमालको काख पोल्टामा छ वीरेन्द्र ताल, जसले मनासलु घुम्न आउने पर्यटकको यात्रालाई थप सार्थकता दिलाउँछ ।
समुन्दी सतहबाट करिब ३ हजार ६ सय ९१ मिटर उचाइमा अवस्थित वीरेन्द्र ताल मनासलु पदयात्रामा आउनेहरुको रोजाइको गन्तव्य बनिरहेको छ । सामागाउँबाट करिब आधाघण्टा पैदल हिँडेर पुग्न सकिने वीरेन्द्र ताललाई स्थानीयहरु ‘याम च्छो’ भन्छन् । याम च्छो तिब्बती शब्द हो । जसको अर्थ ‘माथिल्लो ताल’ हुने सामागाउँका पूर्व वडाध्यक्ष वीरबहादुर लामा बताउँछन् ।

लामाका अनुसार तत्कालीन राजा वीरेन्द्रले बिसं २०३४ सालमा मनासलु क्षेत्र (सामागाउँ)को भ्रमण गरेका थिए । सोही अवसरमा सामागाउँबासीले राजाप्रतिको सम्मान र स्वागत स्वरुप ताललाई राजाको नाम दिएको उनले जानकारी दिए । सामागाउँबासीले केही वर्षअघि बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसरमा स्थानीय पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरिदिएका छन् । तर, अधिकांश स्थानीयहरू पङ्बोछेलाई पङ्बोछे नै भन्न रुचाउँछन् ।
वीरेन्द्र ताललाई भने यामच्छो भनेर कमैलै चिन्ने गरेको अर्का स्थानीय मिङ्मार छिरिङ लामा बताउँछन् । वीरेन्द्र ताल प्रकृतिको अनुपम उपहार हो । चारैतिर कडा चट्टानले घेरेको छ ताललाई, माथिपट्टि सेता हिमालहरु फेटा बनेर टल्किएका छन् । यहाँ पुग्न गोरखा सदरमुकामबाट एकदिन मोटरमा र तीनदिन पैदल हिँड्नुपर्ने एमक्यापका भुवनराज ओझाले बताए । सदरमुकामबाट सिर्दिबाससम्म मोटरमा र सिर्दिबासबाट तीनदिन पैदल हिँडेर सामागाउँ पुग्न सकिने उनले जानकारी दिए ।
वीरेन्द्र ताल मुख्यगरी पुङ्गेन ग्ल्यासियर(हिमनदी)बाट पग्लिएर आउने पानी र हिउँबाट बनेको छ । पुङ्गेन शब्द तिब्बती भाषाको ‘फुन ग्यान’बाट बनेको हो । जसको अर्थ तीन चुचुराहरु हो । पुङ्गेनको अर्थ ‘रक्षक देवता’ समेत रहेको मिङ्मार छिरिङको भनाइ छ । उनका अनुसार सन् १९५० अघि सामागाउँबासीले मनासलु आरोहण गर्न कसैलाई पनि दिँदैनथे । हिमाल आरोहण गर्दा पुङ्गेन देवता रिसाउने डर उनीहरुमा थियो । त्यसैले जापानबाट मनास्लु आरोहण गर्न आएका टोलीलाई सामागाउँबासीले तीनपटकसम्म आरोहणमा रोक लगाएका उनले जानकारी दिए ।
अहिले भने मनासलु हिमाल आरोहणमा कुनै रोक छैन । हरेक वर्ष हजारौँको सङख्यामा आरोहीहरुले हिमाल आरोहण गर्ने गरेका छन् । मनासलु हिमाल आरोहणका लागि वीरेन्द्र ताल हुँदै बेसक्याप जानुपर्छ । आरोहीहरुले तालमा पूजाआजा गरेर बेसक्याप जाने गरेको सामागाउँबासी बताउँछन् ।
वीरेन्द्र तालबाट मनासलु बेसक्यापसम्म जान चारघण्टा पैदल हिँड्नुपर्ने स्थानीय बताउँछन् ।
बैज्ञानिक अध्ययनका अनुसार वीरेन्द्र तालको क्षेत्रफल दु्रत गतिमा बढिरहेको छ । सन् १९८८ मा ०.०९ वर्ग किलोमिटर क्षेत्रफल रहेको वीरेन्द्र तालको आकार बढेर सन् २०२४ मा ०.२२ वर्गकिलोमिटर पुगेको छ । जलवायु परिवर्तका कारण हिमनदीहरु तीव्र रुपमा पग्लँदा हिमतालको क्षेत्रफल बढेको अध्ययनले देखाएको छ ।
यद्यपि २०८१ मा हिमपहिरोका कारण वीरेन्द्र तालको पानी बाहिर उछिट्टिएर पुल लगायत केही भौतिक संरचनाहरु नष्ट भएका थिए ।




