| शनिबार, बैशाख ११, २०८३

बारपाक भूकम्पको १२ औं बर्ष : नयाँ रुप र रंगमा बारपाक

भूकम्प गएको ११ बर्ष बितिसक्दा भूकम्पको केन्द्रविन्दू बारपाक गुल्जार भइसकेको छ । भूकम्पले क्षतिग्रस्त सबै निजी आवास तथा अन्य भौतिक संरचना पुनर्निर्माण भइसकेको छ । भूकम्पपछि नयाँ रुप र रंगमा बारपाक सजिएको छ ।

कालो स्लेट ढुंगाले छाएका एकनासका मौलिक घरहरु भूकम्पले ध्वस्त भएपछि अहिले प्राय ढलान घरहरु बनेका छन् । सहरी शैलीका रंगीचंगी घरहरुले बारपाकलाई सुन्दर गाउँका रुपमा देखाइरहेको छ । सम्पन्नशाली घले गुरुङहरुको बसोबास रहेको बारपाकको सौन्दर्य अवलोकन गर्न जिल्लाभित्र, बाहिर तथा विदेशी पर्यटकहरु समेत त्यहाँ पुग्छन् ।

एकै ठाउँमा करिब पन्द्रसय घरधुरी झुरुप्प रहेको बारपाक देशकै ठूलो गाउँमध्य पर्दछ । तर यहाँका धेरै घरहरु रित्ता रहेका छन् । ‘भूकम्पअघि एकहजारको हाराहारीमा घरहरु थिए तर, भूकम्पपछि यहाँ त्यस्तै पन्द्रसय घरधुरी बनेका छन्’, बारपाक सुलीकोट गाउँपालिका १ का वडाअध्यक्ष धनबहादुर घले भन्छन्, ‘तीमध्य ७५ प्रतिशत घरमा मात्र मान्छे बस्छन् । २५ प्रतिशत घरका मान्छे कोही युके छन्, कोही सिंगापुर ।’ यहाँका धेरैजना ब्रिटिश सेनामा काम गर्ने र निवृत्त जीवन विदेशमै स्थायी बसोबास गर्ने उनी बताउँछन् ।

निवृत्त भएपछि स्वदेश फर्किए पनि सबै काठमाडौंमा बसोबास गर्ने गर्छन् । अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा स्थायी रुपमा बसोबास गर्नेको संख्या पनि उल्लेख्य रहेको अर्का स्थानीय रामकुमार घले बताउँछन् । ‘तर जहाँ भए पनि बर्षमा सकेसम्म दुईफेर, नसके पनि एकफेरचाहिँ अनिवार्य आउने उनको भनाइ छ ।

‘कोही बैशाख पुर्णिमामा आउँछन्, कोही दशैँ, तिहारमा आउँछन्’, घले भन्छन्, ‘जहाँ भए पनि सकेसम्म बर्षमा दुईफेर, नसके पनि एकफेरचाहिँ घरको ढोका खोल्न आएकै हुन्छन् ।’ घर रित्तो बनाएर, झारपात उमारेर भने कोही पनि विदेश बस्दैनन् । ‘आफू नभए पनि कोही न कोही आफन्तलाई बेला बेला घर सरसफाइ गरिदिन साँचो छोडेर गएका हुन्छन्’, उनले भने, ‘त्यसैले मान्छेको बसोबास नभए पनि मान्छे नभएको जस्तो देखिन्न । घर सफा सुग्घर देखिन्छन् ।’ घरमा झारपात उमारेर गाउँघरको माया मारेर विदेशमा कोही पनि नबसेको उनको भनाइ छ ।

२०७२ बैशाख १२ गते गएको भूकम्पबाट बारपाकमा ७२ जनाको मृत्यू भएको थियो भने हजार भन्दा धेरै घरधुरी ध्वस्त भएका थिए । सोही दिनको सम्झनामा बारपाकमा शनिबार भूकम्प स्मृति दिवस मनाउँदैछन् । स्मृति दिवस कार्यक्रममा भूकम्पबाट मृत्यू भएका ७२ जनाको सालिक तथा तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको वडाअध्यक्ष धनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्