
छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन पानपाका शिक्षक तथा कर्मचारीलाई अनुरोध
पालुङटार नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सवलिकरणका लागि उक्त निर्णय गरिएको नगर प्रमुख विवश चिन्तनले बताए । ‘कार्यपालिकाबाट निर्णय पनि गरेका छौ,’ उनले भने, ‘सबै कर्मचारी र शिक्षकहरुलाई हामी पत्राचार पनि गर्छाै ।’ सामुदायिक बिद्यालयप्रतिको विश्वास कायम राख्न यो निर्णय प्रभावकारी हुने उनको अपेक्षा छ ।
पालिकाले प्रत्येक बर्ष नयाँ शैक्षिक सत्रमा यस्तो आग्रह गर्दै आएको छ । सरकारी शिक्षक तथा कर्मचारीका छोराछोरी निजी बिद्यालयमा पढाउँदा सामुदायिक बिद्यालयप्रति प्रश्न उठ्ने गरेको नगर शिक्षा अधिकारी मनोज नेपाली सिर्मलले बताए । ‘आफू सामुदायिक विद्यालयमा पढाउने अनि आफ्नो बच्चा प्राइभेटमा लैजाँदा आफैले आफूलाई विश्वास नगरेको जस्तो देखियो,’ उनले भने, ‘आफ्नै बच्चा सामुदायिकमा भएपछि थप मेहनत गर्नुहुन्छ की भन्ने पनि हो ।’
हरेक शैक्षिक सत्रमा आफूहरुले यस्तो अनुरोध गर्दै आएको सिर्मलले जानकारी दिए । बिशेष गरी साना कक्षाका लागि निजी विद्यालय छनोट गरेपनि माथिल्लो कक्षामा भने सामुदायिक बिद्यालयमा पढाउने क्रम बढ्न थालेको उनले बताए । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि र सवलिकरणका लागि यो निर्णय पनि प्रभावकारी हुने उनको भनाइ छ ।




