
गोरखा–काठमाडौं एकीकरण पदयात्राको शुभारम्भ
नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं सृङ्खला सोमबारबाट सुरु भएको छ । पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी सोमबार बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो ।
पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतले शुभारम्भ गरेका थिए ।
गोरखास्थित रुद्रध्वज गणका अधिकृत कमान्डसहितको टोलीलाई टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डा प्रदान गरी पदयात्राको शुभारम्भ गरिएको सो गणका गणपति विरोध रिजालले जानकारी दिए ।
उनीहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झन्डा हस्तान्तरण गरेर बिदाई गरिएको थियो ।
पदयात्रामा निस्किएको टोली सोमबार पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेसी पुगेर धादिङको नेपाली सेनाको पदयात्री टोलीलाई टर्च र झन्डा बुझाउने छ । धादिङको गणले नुवकोटको गणलाई र नुवाकोटले काठमाडौंको गणलाई यात्रा हस्तान्तरण गर्नेछ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा आयोजना हुने कार्यक्रमका लागि सो टोली २६ पुस साँझसम्म हनुमानढोका स्थित गुल््मलाई टर्च र झन्डा हस्तान्तरण कार्यक्रम निर्धारण भएको छ ।
३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
एकीकरण मार्गमा रहेको ऐतिहासिक स्मारक, कोट र गढी संरक्षण, प्रचार प्रसार तथा विकास गर्ने उद्देश्यले २०७६ सालदेखि नेपाली सेनाले सो पदयात्रा सुरु गरेको हो ।




