| बिहिबार, असार १०, २०८३

आरुघाटमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

बूढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट बजारमा पहिलो पटक सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक आरुघाट युवा क्लबले जनाएको छ । पुस १ गतेबाट प्रतियोगिता सुरु हुने क्लबका सदस्य एवं खेल संयोजक सोवित श्रेष्ठले बताए । ‘पुस ५ गतेसम्म प्रतियोगिता संचालन हुन्छ,’ उनले भने, ‘पुरुष र महिलातर्फ छुट्टाछुट्टै खेल हुन्छन् ।’

उनका अनुसार पुरुषतर्फको खेलमा पहिलो हुने टिमले २ लाख नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश १ लाख २५ हजार, ७५ हजार र २५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै महिलातर्फ पहिलो हुने टिमले १ लाख ५० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ । दोस्रो हुनेले १ लाख, तेस्रोले ५० हजार र सान्त्वना हुनेले २५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउनेछन् । पुरुषतर्फ गण्डकी प्रदेशभरका बिभिन्न पालिकाहरुको टिम सहभागी हुन पाउने छन् भने महिलातर्फ देशभरबाट सहभागी हुन पाउने बताइएको छ । आरुघाट गाउँपालिकाको समन्वयमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ १५ हजार र महिलातर्फ १० हजार टिम दर्ता शुल्क तोकिएको छ ।

खेल क्षेत्रमार्फत पर्यटन प्रवद्र्धन गर्दै आरुघाट बजारलाई गुल्जार बनाउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको खेल संयोजक श्रेष्ठले बताए । ‘उत्तरी गोरखाको प्रमुख नाका आरुघाट बजार बढीगण्डकी डुवानको असरले सुनसान हुन थालेको छ, बजारलाई चलायमान बनाउन पनि यो कार्यक्रम गर्न लागेका हौ,’ उनले भने ।

प्रतियोगिता अवधिभर खाना महोत्सवको साथमा बिभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने क्लबले जनाएको छ । हरेक दिन नेवार, गुरुङ, माझी र दराइ समुदायको सांस्कृतिक प्रस्तुती रहने बताइएको छ । ‘खाना महोत्सवमा बिशेष गरी नेवारी खानाहरु हुनेछन्, यसले नेवारी समुदायको पुरानो संस्कृति जर्गेनामा पनि सहयोग पुग्छ भन्ने आशा गरेका छौ,’ उनले भने ।

प्रतियोगिता अवधिभर एक दिन खुल्ला रक्तदान कार्यक्रम समेत हुने उनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ५५ हजार लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत हुने रकमले आरुघाट गाउँपालिका–९ स्थित घरेलु चौरमा खुल्ला व्यायमशाला र हरियाली पार्क निर्माण गर्ने क्लबले जनाएको छ । त्यस्तै क्लबद्वारा संचालित एम्वुलेन्सको सेवा थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवालाई थप सुलभ बनाउन सहयोग गर्ने भनिएको छ ।

२०६८ सालमा स्थापना भएको यस क्लबले साताको प्रत्येक शनिवार आरुघाट बजार क्षेत्रको सरसफाई गर्दै आएको छ । एम्वुलेन्स सेवा पनि संचालन गर्दै आएको यस क्लबले जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्