
एसईईमा उत्कृष्ट नतिजा ल्याउन वडा कार्यालयको सक्रियता
सहिद लखन गाउँपालिका वडा नं. ७ को कार्यालयले सहिदस्मृति माविको आउँदो एसईईको नतिजा सुधारका लागि विशेष प्रयत्न गरेको छ । यसअघि पनि पालिकाभरिमै उत्कृष्ट नतिजा ल्याएकाले त्यसलाई कायम राख्दै अझ सुधार गर्न जोडदार रुपमा लागेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका तथा वडा कार्यालयको पहलमा विद्यालयले एसईई दिने विद्यार्थीका लागि छात्रवासमा राखेर पढ्ने, पढाउने व्यवस्था गरेको छ । गाउँपालिका कार्यालयले छात्रवासमा बस्ने विद्यार्थीहरुका लागि खाट, बिछ्यौना लगायतका सामग्री हस्तान्तरण गरेको छ भने वडा कार्यालयले विभिन्न दाता जुटाएर एसईई दिने विद्यार्थीहरुलाई आउँदो तीन महिनासम्म पुग्ने गरी खाना तथा खाजाको प्रवन्ध गरेको छ । त्यस्तै उनीहरुलाई आउँदो तीन महिनासम्म पुग्ने गरी कलम, कापी, जोमेट्रीबक्स लगायतका स्टेशनरी सामान र झोला प्रदान गरेको छ ।
‘वडा कार्यालयको समन्वयमा सहिदलखन ८ घर भई राजधानीमा रहेर पर्यटन व्यवसाय गर्ने नवराज अम्गाईँले एसईईमा सहभागीहुने ३० जना विद्यार्थीलाई आउँदो तीन महिनासम्म लाई पुग्ने गरी खाजा र खानाका लागि एकलाख ७७ हजार रुपैयाँ प्रदान गर्नुभयो’, प्रधानाध्यापक रोहिणीप्रसाद खनालले भने, ‘सो रकमबाट खरिद गरी वडा अध्यक्ष शरण श्रेष्ठले बिहिबार विद्यालयलाई खाद्यान्न सामग्री हस्तान्तरण गराउनु भएको छ ।’
सामग्री हस्तान्तरण समारोहमा वडाका जनप्रतिनिधि, विद्यालय व्यबस्थापन समिति, शिक्षक अविभावक संघ, शिक्षक र शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको उनले बताए । विद्यार्थीहरुलाई एसईईसम्म पुग्ने गरी वडा अध्यक्ष शरण श्रेष्ठले प्रभु वैंकसंग एकलाख रुपैयाँ बराबरको स्टेशनरी जुटाएर हस्तान्तरण गरेका प्रअ खनालले बताए । त्यस्तै वडा अध्यक्ष श्रेष्ठले सहिदलखन ७ का सञ्जिव थापासंग माग गरी एसईई दिने विद्यार्थीहरुलाई सहयोगमा ३० थान झोला वितरण गरेको पनि प्रअ खनालले बताए ।
हाल विद्यार्थीहरुलाई विहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमा राखेर पढाउने र राती घर पठाउने गरेको छ । विद्यार्थीहरुलाई विहानको खाना, दिउँसोको खाजाको व्यवस्था विद्यालयले गरेको छ । परीक्षा नजिकिएपछि उनीहरुलाई छात्रवासमा नै राखेर पढाउने प्रधानाध्यापक रोहिणी खनालले जानकारी दिए ।




