| मङ्लबार, साउन ११, २०८३

सृष्टिकर्ता नारी : गरिमा र अस्तित्वका दृष्टिबाट

गोमा दवाडी
नारी सृष्टिको मूल कारक हुन् । नारी मातृशक्ति हुन् । नारी सिर्जनाका खानी हुन् । नारी आमा हुन् । नारी छोरी, दिदी, बहिनी, श्रीमती, भाउजू, सासु आदि विभिन्न भूमिकामा रही यो धर्तीलाई शोभायमान तुल्याउने गरिमामय व्यक्तित्व हुन् । नारी गंगा हुन् । नारी वेद हुन् । पाठशालाका बिम्ब पनि हुन् । ज्ञान चक्षु हुन् । मातृत्वको अन्तः ज्योतिपुञ्ज हुन् । सेती बनेर गर्भमा लुकाएको सन्तानलाई शालीग्रामझैँ कुँदेर संसार देखाइदिने शिल्पकार पनि हुन् । अतः नारी अतुलनीय एवं अद्वितीय शक्ति पुञ्ज हुन् ।

नारीको मूल्य के हो र नारी अधिकार के हो भन्ने विषय आजको दुनियाँमा निकै बुलन्द भएर आएको छ । यसलाई केलाउन हिजोका कहालीलाग्दा दिनहरूतिर पनि फर्किनुपर्ने हुन्छ । छोरीलाई दाउरा, घाँस र चुलो चौकामा सीमित गर्ने परम्परा त हामीले नै देखे सुनेका र भोगेका छौँ । त्यसमा पनि अर्काको घरमा जाने जात भनेर छिट्टै बिहे गरी पठाउने तथा बाल विवाह गर्ने चलन हाम्रा आमा दिदीहरूको पालामा थियो । बिस्तारै समाजमा आएको परिवर्तनसँगै यो प्रचलनमा शुद्धीकरण भएको छ ।

खास गरी २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि आजसम्मका कालखण्डमा हेर्दा नारीको जीवन अधिकारका दृष्टिले गर्व गर्न लायक बन्दै गएको छ । आज स्कुल र क्याम्पस तथा विश्वविद्यालयहरूमा छात्रहरूभन्दा छात्राहरूकै सङ्ख्या बढी देखिन थालेको छ । यसले शैक्षिक क्षेत्रमा नारीहरू अग्रपङ्क्तिमा छन् भन्ने शुभ सङ्केत पाइन्छ । समाजमा आएको चेतना तथा राजनीतिक परिवर्तन तथा विश्व परिवेशसमेतका कारण नारीको जीवन आज आएर तुलनात्मक रूपमा उर्वर, सिर्जनशील भूमिकामूलक एवं प्रगतिशील बन्दै गएको छ ।

मुलुकका जिम्मेदार निकायहरूमा नारीहरूको उपस्थिति गरिमामय छ । स्कुल, क्याम्पस, सरकारी निकाय, संघसंस्था, कुटनीतिक तथा राजनीतिक क्षेत्रहरूमा नारीको उपस्थिति र भूमिका लोभलाग्दो देखिएको छ । प्रधानन्यायाधीश र राष्ट्रपति जस्तो सर्वोच्च गरिमामय स्थान नारीरत्नले ग्रहण गर्न सफल भएको दृष्टान्त हामीसामु छ । सङ्ख्यात्मक रूपमा यो बढोत्तरी हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । हिजोका कहालीलाग्दा दिनहरूका तुलनामा यो प्रगति आश्चार्यलाग्दो र स्वाभाविक पनि छ ।

इतिहास पल्टाएर हेर्दा हिजो हाम्रा पुर्खाहरूले सति प्रथाको अमानवीय र भत्र्सनायोग्य दिनहरू भोग्न बाध्य भए । सोच्दा र सम्झँदा पनि त्यो परम्परासँग मुक्का हान्न मन लाग्छ, दाह्रा किट्न र नङ्ग्रा गाड्न मन लाग्छ । रानी राज राजेश्वरी सति गएको हेर्न काठमाडौँबासीहरू त्यस कालखण्डमा आर्यघाटमा लामबद्ध भएका भन्ने तत्कालीन इतिहास अनि पृथ्वीनारायण शाहको सपना पूरा गर्न र मातृभूमि नेपाल र नेपालीहरूको हितका खातिर आफू सति नजाने निर्णयमा पुगी राष्ट्रको नेतृत्व गरेको इतिहास पढ्दा गर्वले छाती चौडा हुन्छ । यस क्षणमा उहाँप्रति हामी नारीहरूको प्रेरणाका स्रोत राजराजेश्वरीप्रति श्रद्धाका दुई थुँगा फूल चढाउँछु ।

कैयन् अवरोध तथा प्रतिरोधहरूका बाबजूद आजका नारीहरू सार्वजनिक मञ्चमा शिर उठाएर बोल्न थालेका छन् । सार्वजनिक मञ्चबाट नेतृत्वको दाबी गर्न थालेका छन् । यसलाई उपलब्धी मान्ने कि नमान्ने ? यति भएर पनि नारीहरू कमजोर र काँतर हुन्छन् भन्ने पुरुष मनोविज्ञान जीवित नै छ । अनि ‘फलामलाई फलामले नै काट्छ’ भनेझैँ नारीहरूको अग्रगमनको गतिलाई अवरुद्ध गर्ने काममा नारी दिदीबहिनीहरू तल्लीन भएको कतै कतै देखिन्छ ।

नारीको मातृत्व शक्ति, सृष्टिको सर्वोच्च शक्ति शिल्पकार व्यक्तित्व तथा आफूभित्र अन्तर्निहित कस्तुरीको बिनालाई अवमूल्यन गरेपछि आफैँ पछाडि परिन्छ भन्ने भावलाई बुझ्नु जरुरी छ । प्रगतिको बाटोमा टुकुटुकु हिँडिरहेका नारीरत्नको कलिलो मुनालाई मलजल र गोडमेल गर्नुपर्नेमा निमोठ्ने काम भयो भने परिवार, समाज र राष्ट्रले हार्छ कि जित्छ ? आमा बाबुनानीहरूको पहिलो शिक्षक र घर नै पहिलो पाठशाला भएकाले परिवार, समाज र देशलाई काम लाग्ने सुयोग्य नागरिक जन्माउने विषयले प्राथमिकता पाउन पर्दैन ? सृष्टिको आदि कालमा नारीको भूमिका सर्वोच्च थियो भन्ने कर्णप्रिय भाष्य हामीले सुनेका छौँ ।

यो बीचतिर आएर गडबढ भएको रहेछ । हुन त सहनशील, क्षमाशील तथा कोमल हृदयका खानी नारीले पुरुष नक्षेत्रलाई जन्माएको हुँदा स्वतः नारीको भूमिका सृष्टि परम्पराले नै उच्च बनाएको छ । त्यसमा पनि जुन घरमा नारीको सम्मान हुँदैन, त्यस घरमा ईश्वरको बास हुँदैन भन्ने शास्त्रसम्मत कथनले ईश्वरलाई पनि नारीशक्ति मनपर्ने रहेछ भन्ने सङ्केत गर्दछ । नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । रथ चल्नका लागि एउटा पाङ्ग्राबाट सम्भव नभएझैँ मानव जीवन सुचारु गर्न नारी एक्लै र पुरुष एक्लैबाट सम्भव छैन ।

नारी र पुरुषको अन्योन्याश्रित सम्बन्ध र पृथक् अस्तित्वको बारेमा चर्चा गरेर सकिने विषय नै होइन । नारीको नारीत्व र पुरुषको पुरुषत्व प्राकृतिक रूपमा नै पूर्व निर्धारित भएर आएको छ । यी दुई शक्तिको महत्वसँग तुलना गर्ने चिज संसारमा केही पनि छैन । नारी र पुरुषको अस्तित्वका बारेमा विभिन्न प्रश्न उठ्ने गरेका छन् र कतिपय सवालमा यस विषयमा होड नै चलेको देखिन्छ । यो विषयमा होड गर्नु व्यर्थ छ । महिला र पुरुष प्रकृतिमा पहिले नै निर्माण भएको सत्ता हो ।

मानव निर्मित सत्ता भएको भए होड सुहाउँदो हुन्थ्यो होला । जस्तै राजनीतिक पार्टी प्रकृतिले सिर्जना गरेको सत्ता होइन, यो मानव निर्मित हो । यसमा होड छ र हुनुपर्छ पनि । तर जुन सत्ता प्रकृतिद्वारा सिर्जित छ, त्यसमा होड किन ? मानिसको दुनियाँ पुरुष अथवा नारीले एक्लै निर्माण गर्न सक्छन् त ? अतः नारी र पुरुष संसारको सृष्टि चक्रलाई गतिशील तुल्याउने अनुपम, अद्वितीय, अभिभाज्य शक्ति हुन् । दुबै बीच समकोणात्मक सम्बन्ध आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्