
चुनौती—बिकाउ होइन, टिकाउ राजनीतिको
यो निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ शक्तिको उदय भएको छ । नयाँशक्तिको उदय जति उत्साहजनक छ, त्यसलाई टिकाउनु त्यति नै चुनौतीपूर्ण छ । हालैका निर्वाचन परिणामहरू र जनलहरलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले परम्परागत राजनीतिको सिन्डिकेट तोड्दै जताततै जितको झण्डा गाडेको छ ।
यो जित केवल एउटा दलको सफलता मात्र होइन, बरु वर्षौँदेखि पुराना दलहरूको कार्यशैलीबाट आजित भएका जनताको विद्रोह र आशाको प्रतिबिम्ब पनि हो । तर, इतिहास साक्षी छ—जित्नु जति कठिन छ, प्राप्त जित र जनविश्वासलाई जोगाइराख्नु त्योभन्दा कैयौँ गुणा चुनौतीपूर्ण हुन्छ ।
अहिले रास्वपासँग जनताका ठुला आशा र अपेक्षाहरू जोडिएका छन् । नयाँले केही गर्छन् कि भन्ने यो विश्वास नै रास्वपाको सबैभन्दा ठुलो पूँजी हो । यदि यो अपेक्षा समयमै पूरा हुन सकेन भने जनतामा फेरि उही पुरानै वितृष्णा जाग्ने निश्चित छ । राजनीतिमा ‘नयाँ पनि पुरानै जस्तै हुन्’ भन्ने भाष्य निर्माण हुन थाल्यो भने त्यसले रास्वपाको मात्र होइन, वैकल्पिक राजनीतिकै साख गिराउनेछ ।
रास्वपाका लागि अबको बाटो बिकाउ राजनीतिबाट माथि उठेर टिकाउ राजनीतितर्फ मोडिनु पर्ने बेला आएको छ । क्षणिक रूपमा चर्चामा आउन गरिने स्टन्ट, सामाजिक सञ्जालको ताली र चर्का भाषणले चुनाव त जितिएला, तर इतिहास र जनमानसको मन जित्न डेलिभरी नै चाहिन्छ । जनताले अब रास्वपाबाट केवल संसदमा चर्का प्रश्न मात्र होइन, विद्यमान बेथिति सुधार्ने स्पष्ट खाका र कार्यान्वयनको अनुभूति खोजेका छन् ।
अब उसले व्यक्तिवादी नेतृत्वको छायाबाट निस्किएर पार्टीलाई पद्धति र विचारमा आधारित बनाउनुपर्छ । त्यस्तै सरकारमा जाँदा ठोस नीतिगत परिवर्तन र जनसरोकारका मुद्दामा परिणाम देखाउनुपर्छ । सत्ताको लुछाचुडीमा रुमल्लिनुभन्दा आफ्ना एजेन्डाहरूमा अडिग रहनुपर्छ । गल्ती गर्दा माफी माग्ने र प्रश्नहरूको तर्कपूर्ण उत्तर दिने संस्कृति विकास गर्नुपर्छ ।




