
चैत २७ गतेबाट ‘एघारौँ ओसन कप यु १३ फुटबल प्रतियोगिता’ हुने
आगामी चैत २७ गतेबाट एघारौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लवको आयोजनामा गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित क्लवको कृत्रिम घाँसे मैदानमा प्रतियोगिता संचालन हुने क्लवका अध्यक्ष अमृत केसीले बताए ।
चैत २७ देखि बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगिता गोरखा नगरपालिकाको ‘गोरखा मेयर युवा फुटवल बिकास परियोजना’अन्तरगत आयोजना भएको उनले जानकारी दिए । प्रतियोगितामा देशभरका उत्कृष्ट छात्रतर्फ १३ वर्ष मुनिको उमेर समूहका १२ वटा टिमले सहभागिता जनाउने उनको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उपविजेता टिमले रु १५ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई छ ।
यस्तै, विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुका लागी पुरस्कारको व्यवस्था गरिएको आयोजक द ओसन क्लवले जनाएको छ ।प्रतियोगिताको अनुमानित खर्च २० लाख १२ हजार रहेको क्लवको भनाई छ ।




