
पृथ्वी नारायण गोल्डकपको तेस्रो दिनः प्लान्निङ बोइजलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिताको तेस्रो दिन सोमबार प्लान्निङ बोइज युनाइटेडलाई हराउँदै नेपाल पुलिस क्लब विजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा गत शनिबारबाट प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगिताअन्तरगत सोमबार एक खेल सम्पन्न भएको छ । जसमा प्लान्निङ बोइज युनाइटेडलाई २–० को गोलअन्तरले हराउँद नेपाल पुलिस क्लब विजयी भएको हो । प्रतियोगिताको उद्घाटन खेल शनिबार काठमाडौँको संकटा एफसी र आयोजक गोरखा स्पोर्ट काउन्सिल बीच भएको थियो । प्रतियोगितामा १–० को गोल अन्तरले आयोजक गोरखा स्पोर्ट काउन्सिल विजयी भएको थियो ।
यस्तै, आइतबार भएको खेलमा सातदोबाटो युथ क्लवलाई १–० ले हराउँदै चित्लाङ एफसी विजयी भएको छ ।
आगामी फागुन २ गतेसम्म संचालन हुने प्रतियोगिताको चौँथो दिन बुधबार श्री भगवती क्लब र एपीएफ फुटबल क्लब बीच खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिताको बिजेता टिमले ८ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले भने नगद रु ४ लाख पाउने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका ७ वटा क्लब र जिल्ला खेलकुद बिकास समिति गोरखाको एक टिम गरी ८ टीमले सहभागिता जनाएका छन् ।




