
पृथ्वी नारायण गोल्डकपको दोस्रो दिनः सातदोबाटोलाई हराउँदै चित्लाङ एफसी विजयी
प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिताको दोस्रो दिन आईतबार सातदोबाटो युथ क्लवलाई हराउँदै चित्लाङ एफसी विजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा शनिबारबाट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताअन्तरगत आइतबार एक खेल भएको छ । जसमा सातदोबाटो युथ क्लवलाई १–० को गोलअन्तरले हराउँदै चित्लाङ एफसी विजयी भएको हो । प्रतियोगिताको उद्घाटन खेल शनिबार काठमाडौँको संकटा एफसी र आयोजक गोरखा स्पोर्ट काउन्सिल बीच भएको थियो । प्रतियोगितामा १–० को गोल अन्तरले आयोजक गोरखा स्पोर्ट काउन्सिल विजयी भएको थियो ।
आगामी फागुन २ गतेसम्म संचालन हुने प्रतियोगिताको तेस्रो दिन सोमबार प्लान्निङ बोइज युनाइटेड र नेपाल पुलिस क्लब बीच प्रतीस्पर्धा हुने छ । माघ २७ गते श्री भगवती क्लब र एपीएफ फुटबल क्लब बीच खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिताको बिजेता टिमले ८ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले भने नगद रु ४ लाख पाउने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका ७ वटा क्लब र जिल्ला खेलकुद बिकास समिति गोरखाको एक टिम गरी ८ टीमले सहभागिता जनाएका छन् ।




