| बुधबार, माघ २८, २०८२

प्रथम पृथ्वीनारायण गोल्ड कप सुरुः उद्घाटन खेलमा संकटा एफसीलाई हराउँदै गोरखा स्पोर्ट काउन्सिल विजयी

प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिता शनिबारबाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल काठमाडौँको संकटा एफसी र आयोजक गोरखा स्पोर्ट काउन्सिल बीच भएको थियो । प्रतियोगितामा १–० को गोल अन्तरले आयोजक गोरखा स्पोर्ट काउन्सिल विजयी भएको छ ।

आगामी फागुन २ गतेसम्म संचालन हुने प्रतियोगिताको दोस्रो दिन आइतबार सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लब बीच खेल हुनेछ । यस्तै, माघ २६ गते प्लान्निङ बोइज युनाइटेड र नेपाल पुलिस क्लब बीच तथा माघ २७ गते श्री भगवती क्लब र एपीएफ फुटबल क्लब बीच खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको बिजेता टिमले ८ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले भने नगद रु ४ लाख पाउने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका ७ वटा क्लब र जिल्ला खेलकुद बिकास समिति गोरखाको एक टिम गरी ८ टीम बीच प्रतिस्पर्धा हुनेछ ।

गोल्डकपलाई मध्यनजर गरेर गोरखा नगरपालिका वडा नं १० ले छेवेटारमा खाना महोत्सव आयोजना भएको छ । गोल्डकप अवधिभर खाना महोत्सव चल्ने वडाअध्यक्ष कुँवरले बताएका छन् । खाना महोत्सवमा स्थानीय खानाका परिकारसहित विभिन्न सांस्कृतिक कार्यक्रम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्