
बदर मत घटाउने विधिबारे बेलैमा योजना बनाऊ
के तपाईलाई थाहा छ, नेपालमा पहिलो पटक निर्वाचन कहिले, कहाँ र केको भएको थियो ? नेपालको निर्वाचनको इतिहास हेर्ने हो भने नेपालमा निर्वाचनको औपचारिक सुरुवात वि.सं. २००४ जेठ ३ गते भएको थियो । तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेरले सुधारको प्रयास स्वरूप काठमाडौं म्युनिसिपालिटी (नगरपालिका) को निर्वाचन गराएका थिए ।
यसरी हेर्दा नेपालको निर्वाचनले ७९ बर्ष पूरा गरेको छ । संसद चुन्ने निर्वाचन भने पहिलो पटक बि.सं. २०१५ मा भएको थियो । पञ्चायती व्यवस्थामा पनि एक पटक जनमत संग्रह र २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावहरु भएको थियो । प्रजातन्त्र पुनस्थापनापछि भने २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ मा निर्वाचन भएको थियो ।
दर्जन पटक चुनाव गरे, गराएको अनुभव भए पनि अहिलेसम्म ठूलो दरका मत बदर हुने समस्या कायमै छ । यसमा कसको कमजोरी बढि छ ? अध्ययनको विषय छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखाका मतदाताको ५ हजार २२८ अर्थात ४.३२ प्रतिशत मत बदर भएका छन् । जसमध्य क्षेत्र नं. १ मा दुईहजार दुईसय १९ अर्थात ३.४८ मत बदर भएको छ । क्षेत्र नं. २ मा तीन हजार नौ अर्थात ३.८८ मत बदर भएको छ ।
६३ हजार ६०९ मत खसेको क्षेत्र नं. १ मा ६१ हजार ३९० मत मात्र सदर भएको थियो । त्यस्तै ५७ हजार १५६ मत खसेको क्षेत्र नं. २ मा ५४ हजार १४७ मत मात्र सदर भएको थियो । लोकतन्त्रमा मतको असाध्यै ठूलो भाउ छ । एउटा मतका लागि सरकारको ढुकुटीबाट कति खर्च हुन्छ ? यति महत्वपूर्ण मत बदर हुनु ख्यालख्याल होइन । सँधै बदर मत किन कायम छ ? मत बदर हुनुमा प्रमुख दोषी को हो ? यसको खोजी गर्नुपर्छ । आगामि चुनावमा बदर मत शून्यमा झार्नुपर्छ ।




