
एजेण्डा र मतदाता नबिर्सिउ
चुनावअघि आश्वासनका ठेली बोकेर गाउँ पस्ने तर चुनाव जितेपछि एजेण्डा र मतदाता बिर्सने रोग जिल्लामा नौलो होइन । २०४६ सालको बहुदलयताका हरेक निर्वाचनमा जनताले आश्वासनका ठेलीहरु धेरै पाए । बिश्वास गरेर ब्यालेट बक्समार्फत जसलाई जिताए, पटक पटक उनीहरुबाटै धोका खाए । अव भने जनतालाई यस्तो धोका नहोस् ।
हुन त यसअघिका भन्दा यो निर्वाचन र मतपरिणाम अलि भिन्न देखियो । कांग्रेस–माओवादीको आलोपालो सत्ताको गढ भत्किएको छ । भारी मतान्तरसहित रास्वपा दुवै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्न सफल बन्यो । पुराना दलको बिकल्प र परिवर्तन खोजिरहेका जनताले ब्यालेट बक्समार्फत नयाँलाई अवसर दिएका छन् । यो पटक निर्वाचित भएकाहरुबाट पुराना दलहरुको जस्तो धोका जनतालाई पक्कै हुने छैन ।
यसअघि जिल्लावासीले निर्वाचित गराएर पठाएकाहरु मन्त्रीदेखि प्रधानमन्त्री समेत बनिसके । पालुङटार एयरपोर्ट, बुढीगण्डकी जलबिद्युत आयोजना, गोरखकाली रवर उद्योगलाई उनीहरुले पटक पटक चुनावी एजेण्डा बनाए । तर चुनाव जितेर गएपछि बिर्सिए । यी सँगै अन्य धेरै आश्वासन जनताले यसअघिका उमेदवारहरुबाट पाउँदै आएका छन् । तर चुनाव जितेपछि आफ्नो एजेण्डामात्र होइन मतदातालाई समेत उनीहरुले बिर्सिन्छन् । गुनासा र आक्रोशका ठेलीहरु बिसाउने ठाउँ उनीहरुले कहिलै पाएनन् ।
यो पटक परिवर्तनको आशासहित जनताले ब्यालेट बक्समार्फत नयाँलाई अनुमोदित गरेका छन् । निराश जनतामा आशाको केही अंश अझै बाँकी देखिन्छ । दुवै क्षेत्रबाट निर्वाचित भएकाहरुले अव जनताको आशालाई निराशामा परिणत हुन दिनु हुदैन । चुनावअघि जुन एजेण्डा लिएर जनतामाझ पुगेका थिए त्यी एजेण्डा सफल बनाउन अग्रसर हुनु जरुरी छ । अनि मात्र जनताले अहिले गरेको विश्वास सदैव रहने छ ।




