| बुधबार, फाल्गुन २६, २०८२

दलहरुमा परिवर्तनको खाँचो

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना दलहरुले अनेपक्षित हार व्यहोर्नुप¥यो । दशकौ देखिको उनीहरुको किल्ला भत्कियो । निर्वाचनको यो परिणाम पुराना दलहरुले सायदै आकलन गरेका थिए । तर परिवर्तन खोजिरहेका नागरिकले ब्यालेट बक्समार्फत पुराना दलहरुलाई सच्चिएर परिवर्तनशिल हुन गतिलो सन्देश दिएका छन् ।

पुराना दलहरुको कार्यशैलिप्रतिको असन्तुष्टी र उनीहरुसँगको बर्षाैदेखि गुम्सिएर बसेका आक्रोस र कुण्ठाहरु ब्यालेट बक्समार्फत छताछुल्ल भयो । ठुला भनिने दलहरु सिमित सिटमा खुम्चिए । भरखरै उदाएको रास्वपा दुई तिहाइको नजिक पुग्यो । यो परिणामबाट अव पुराना दलहरुले आफू सच्चिनुपर्ने महशुस पक्कै गरेका होलान् । अब पुरानो ढर्राबाट चल्दैन भन्ने हेक्का पक्कै भयो होला ।

जिल्लाकै सन्दर्भलाई जोड्ने हो भने २०४६ साल यता भएका निर्वाचनहरुमा कांग्रेस–माओवादीले बर्चश्व जमाउदै आएका थिए । गठबन्धन र भागवण्डा गर्दै एकछत्र राज गरे । जनताको आधारभूत आवश्यकतालाई वेवास्ता गर्दै कार्यकर्ता र आफन्तलाई अवसरको पोका बोकाउने नेताहरुको प्रवृतिका कारण पनि रुष्ट थिए नागरिक । यो चुनावले सिकाएको पाठलाई मनन गर्दै अव पनि नसच्चिने हो भने पुराना दलहरु खुम्चिएको मरिच बन्ने छन् ।

हारलाई स्वीकार गर्दै अवका दिनमा दलहरुले आफ्नो कमजोरीहरु सच्याउँदै परिमार्जित हुदै जानुपर्ने छ । उनीहरुमा रुपान्तरणको खाँचो छ । व्यक्ति र दलभन्दा माथि उठेर देश र जनताको चिन्ततसहित सुध्रिएर अघि बढ्न सके फेरी जनताको मत जित्न समय लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्