
गोरखाका गाई, भैँसीका बाँझोपनको उपचार
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले गोरखाका गाई, भैँसीको बाँझोपनाको निशुल्क उपचार गरेको छ । नमूना कार्यक्रमका रुपमा गोरखा नगरपालिकाका पाँचवटा वडाका किसानहरुको गोठमा गई गाई, भैँसीको बाँझोपनको निशुल्क उपचार गरिएको कार्यालय प्रमुख अनन्त कोइरालाले जानकारी दिए ।
‘गोरखा नगरपालिकाको वडा न ४, ८, ९, १३ र १४ का किसानको गोठमा गएर बाँझोपन र प्रजनन सम्वन्धी समस्या भएका गाई भैँसीमा अल्ट्रासाउन्डको प्रयोग गरी निशुल्क रूपमा उपचार गरेका छौं’, कोइरालाले भने, ‘सो कार्यक्रमले धेरै समयदेखि बाँझोपन भएका गाईभैँसीको समस्या समाधान गरेका छौं ।’
सो कार्यक्रममा ११ वटा भैंसी र ४६ वटा गाई गरी जम्मा २९ किसानका ५७ वटा गाईभैसीमा रहेको बाँझोपन निवारण गरिएको कोइरालाले जानकारी दिए ।




