| बुधबार, फाल्गुन १९, २०८२

मौन अवधिको मर्यादा पालना गरौं

नेपाल यतिबेला लोकतन्त्रको महाकुम्भ अर्थात् निर्वाचनको सँघारमा छ । आगामी फागुन २१ गते देशभर एकैसाथ हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना एजेन्डा जनतामाझ पु¥याउने काम लगभग सम्पन्न गरिसकेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार गत मध्यरातदेखि मौन अवधि सुरु भइसकेको छ । यो ४८ घण्टाको समय कुनै उत्सव वा विश्राम मात्र होइन, बरु मतदाताका लागि गम्भीर आत्ममन्थन गर्ने र राष्ट्रको भविष्य तय गर्ने महत्वपूर्ण घडी हो ।

मौन अवधिको मुख्य उद्देश्य भनेकै मतदातालाई कुनै पनि किसिमको बाह्य दबाब, प्रभाव वा प्रलोभन बिना स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छनोट गर्ने वातावरण प्रदान गर्नु हो । चुनावी प्रचारप्रसारको कोलाहलपूर्ण वातावरणबाट टाढा रहेर शान्त र निष्पक्ष ढङ्गले सही निर्णय लिन यो अवधिले मद्दत गर्दछ । तर, विगतका अनुभवहरूलाई हेर्दा यो समयलाई कतिपय शक्तिहरूले अवाञ्छित चलखेल गर्ने अवसरका रूपमा प्रयोग गर्ने गरेको पाइयो । पैसाको लेनदेन, भोजभतेर, र मतदातालाई डराउने धम्काउने जस्ता क्रियाकलापहरू यही अवधिमा बढी हुने गरेका समाचारहरू आउनु लोकतन्त्रका लागि सुखद पक्ष होइन ।

अहिलेको डिजिटल युगमा मौन अवधिको उल्लङ्घन गर्ने माध्यम सामाजिक सञ्जाल (फेसबुक, टिकटक, एक्स आदि) बन्ने गरेका छन् । भौतिक रूपमा जुलुस वा सभा नगरे पनि डिजिटल माध्यमबाट गरिने प्रचारप्रसार र भ्रमपूर्ण सूचनाको प्रवाहले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठाउन सक्छ । त्यसैले, निर्वाचन आयोगले यो पटक सामाजिक सञ्जालमार्फत गरिने प्रचारलाई पनि कडा निगरानीमा राख्ने जुन प्रतिबद्धता जनाएको छ, त्यसको प्रभावकारी कार्यान्वयन अनिवार्य छ ।

मतदातालाई प्रभावित पार्ने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष गतिविधि (चाहे त्यो भौतिक होस् वा डिजिटल) पूर्ण रूपमा बन्द गर्नुपर्छ । कोही कसैको लोभ, लालच वा डरमा नपरी आफ्नो विवेक प्रयोग गरी मतदान गर्ने सङ्कल्प गर्नुपर्छ । मौन अवधिमा हुने अवाञ्छित गतिविधिबारे सजग रहँदै त्यस्ता घटनाको सूचना तुरुन्तै प्रशासनलाई दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्