| बुधबार, माघ २८, २०८२

मकै बिबाहको स्वामित्व पालिकाले लिओस्

कुनै पनि समाजको जीवन्तता त्यसको संस्कृति र परम्परामा रहेको हुन्छ । संस्कृति केवल पुर्खाले छोडेको नासो मात्र होइन, यो त त्यो भूगोल र त्यहाँका बासिन्दाहरूको स्वाभिमान र अस्तित्वको कडी पनि हो । नेपालको सन्दर्भमा ग्रामीण भेगहरूमा यस्ता अनेकौं मौलिक परम्पराहरू छन्, जसले हामीलाई विश्व मानचित्रमा भिन्न र विशिष्ट देखाउँछन् । यसैमध्येको एक अनुपम उदाहरण हो— गोरखाको धार्चे गाउँपालिकामा प्रचलित मकै विवाह परम्परा ।

धार्चे गाउँपालिकाको लाप्राकलगायतका गाउँहरूमा मकै रोप्नुअघि गरिने यो बिबाह केवल एउटा धार्मिक अनुष्ठान मात्र होइन । यो प्रकृतिसँगको मानिसको प्रगाढ सम्बन्ध, कृषिको सम्मान र असल उब्जनीको कामना गर्ने एक सामूहिक उत्सव हो । मकैलाई अन्नको रूपमा मात्र नहेरी त्यसलाई जीवित पात्रका रूपमा स्विकार्नु र उत्सवमय तरिकाले रोपणको तयारी गर्नुले हाम्रो प्राचीन सभ्यता कति उन्नत र प्रकृतिमैत्री थियो भन्ने झल्काउँछ । यस्ता परम्पराहरू नै धार्चेको असली ब्रान्ड र पहिचान हुन् ।

तर, विडम्बना, आधुनिकताको बढ्दो प्रभाव, युवा पुस्ताको पलायन र विदेशी संस्कृतिको अन्धानुकरणले हाम्रा यस्ता रैथाने मौलिकताहरू बिस्तारै ओझेलमा पर्दै गएका छन् । मकै विवाहु जस्ता दुर्लभ र रोचक परम्पराहरू यदि हामीले आज जोगाउन सकेनौं भने भोलिको पुस्ताले यसलाई एकादेशको कथाका रूपमा मात्र सुन्नुपर्ने अवस्था आउन सक्छ। मौलिकता गुम्नु भनेको अन्ततः आफ्नो पहिचान र स्वाभिमान पनि गुम्नु हो ।

यस्तो अवस्थामा, यी अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नु आम नागरिकको नैतिक दायित्व त हो नै, तर यसमा स्थानीय सरकारको भूमिका अझ निर्णायक रहन्छ । धार्चे गाउँपालिकाले आफ्नो क्षेत्रका यस्ता मौलिक परम्पराहरूलाई सूचीबद्ध गर्ने, यसको ऐतिहासिक र सांस्कृतिक महत्वबारे नयाँ पुस्तालाई सचेत गराउने र यसलाई पर्यटनसँग जोडेर प्रवद्र्धन गर्ने योजना ल्याउनु जरुरी छ । स्थानीय पाठ्यक्रममा यस्ता विषय समावेश गरी विद्यालय स्तरबाटै अपनत्व जगाउनु अर्काे प्रभावकारी कदम हुन सक्छ ।

हाम्रो मौलिकता नै हाम्रो शक्ति हो । मकै विवाहु जस्ता परम्परालाई केवल अन्धविश्वासको चश्माले नहेरी यसभित्रको सामाजिक एकता, खुसी र पर्यावरणीय सन्देशलाई बुझ्नु आवश्यक छ । स्थानीय सरकार, नागरिक समाज र युवा वर्ग सबै मिलेर यस्ता ऐतिहासिक गौरवहरूको जगेर्ना गर्न सके मात्रै धार्चेको र समग्र नेपालको स्वाभिमान उच्च रहनेछ ।

प्रतिक्रिया दिनुहोस्