
धार्चेको स्थापना दिवसमा उत्कृष्ठ योगदान गर्नेहरु सम्मानित
धार्चे गाउँपालिकाले आफ्नो स्थापना दिवस बुधबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रमुख प्रशासकीय अधिकृत वुद्धिराम बस्नेतको अध्यक्षता तथा गाउँपालिका प्रमुख लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा उत्कृष्ठ योगदान गर्नेहरु सम्मानित भएका छन् ।
स्थापना दिवसको अवसरमा आयोजित अध्यक्षकप ब्याटमिण्टन प्रतियोगितामा प्रहरी चौकी माछाखोलाले प्रथम पुरस्कार प्राप्त गरेको छ । त्यस्तै सो अवसरमा यसबर्षको उत्कृष्ठ कर्मचारीका रुपमा गाउँ पालिकाको कार्यालयमा कार्यरत अनील नेपाली सम्मानित भएका छन् ।
त्यस्तै उत्कृष्ठ स्वास्थ्यकर्मीका रुपमा धार्चे आधारभूत अस्पतालमा कार्यरत अनमि सीमा घले सम्मानित भएकी छिन् । त्यस्तै धार्चे २ रुञ्चेतस्थित गण्डकी मावि उत्कृष्ठ विद्यालय घोषित भएको छ भने उत्कृष्ट शिक्षकका रुपमा जनजागृति मावि माछाखोलाका शिक्षक सुष्मा सिर्मल पुरस्कृत भएकी छिन् ।
उत्कृष्ठ विद्यार्थीका रुपमा ३.४८ जिपिए ल्याएर एसईई उतीर्ण गर्ने गण्डकी माविकै विद्यार्थी सुजाता गुरुङ पुरस्कृत भएका गाउँपालिकाको कार्यालयले जनाएको छ । स्थापना दिवसका अवसरमा धार्चे गाउँपालिकामा सार्वजनिक विदा आव्हान गरिएको थियो ।




