| बिहिबार, फाल्गुन २७, २०८२

चुनावी मतपरिणामबारे यस्तो छ गोरखाका कांग्रेस–माओवादीको धारणा

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपर्छ भन्ने कुराको परिकल्पना पुराना ठुला दलहरुले सायदै गरेका थिए । चुनावअघि दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चितताको आ–आफ्नै दावी उनीहरुको थियो, बिशेष गरी कांग्रेस र माओवादीको ।

तर परिवर्तन खोजिरहेका मतदाताको मनोभाव बुझ्न नसक्दा यो पटक उनीहरुले लज्जास्पद हार व्यहोर्नुप¥यो । फराकिलो मतान्तरले पराजित भएपछि उनीहरु अहिले आत्मासमिक्षामा जुटेका छन् । चुनावको अप्रत्याशित मतपरिणामबारे उनीहरुको आ–आफ्नै धारणा छ ।

गोरखा–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उमेदवारी दिएका लेखनाथ न्यौपाने चुनावी परिणामलाई सच्चिनुपर्ने संकेतसहित जनताले गरेको खवरदारीको रुपमा बुझ्नुपर्ने बताउँछन् । ‘जनताले हामीलाई पुरै इग्नोर त गरेनन्, ११ हजार मत सानो होइन, तर मन पराएनन्,’ उनले भने, ‘जनताले हामीमाथि प्रश्न उठाए, तिमीहरु सच्चिनु भनेर खबरदारी गरे भन्ने एउटा बुझाइ हो मेरो ।’

उनले संगठन बलियो हुँदा मात्र चुनाव जितिन्छ भन्ने भाष्य गलत सावित भएको समेत बताए । अझै पनि सांगठनिक सुदृढीकरण र शुद्धीकरण भने आवश्यक देख्छन् उनी । ‘ठिक र बेठिकको सीमारेखा कोरेर ठिकलाई संगठित गर्दै अघि बढाउने र गलतका विरुद्ध लड्ने कल्चर पार्टीमा पनि छैन, सानो समस्या पर्दा निराश हुने, सानो असन्तुष्टिले पार्टी छाड्ने, व्यक्तिगत घच्चा लागेमा मत फेर्ने देखियो,’ उनी भन्छन्, ‘संगठनलाई सुदृढीकरण गरेर वास्तविक कार्यकर्ताको पहिचान गर्नुपर्ने आवश्यक देखियो ।’

नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा पुराना ठूला दलका कारण देशमा समृद्धि र सुशासन कायम हुन सकेन भन्ने गलत भाष्य निर्माण हुनु र त्यसलाई चिर्न नसक्नु आफूहरुको कमजोरी भएको बताउँछन् । ‘जेनजी आन्दोलनको भावना समेट्न नयाँलाई नै रोज्नुपर्छ भन्ने मानसिकता मतदातामा भयो । यसका कारण वैदेशिक रोजगारमा रहेका युवा र पढ्नलाई शहर बसेका युवाहरुले मतदातालाई त्यहीअनुसार प्रभावित बनाए,’ उनले भने, ‘हामीले त्यसलाई चिर्न नसक्नु कमजोरी भयो ।’

कानुन व्यवसायी स्थानेश्वर दुवाडी पुराना दलप्रति जनताको विश्वास टुट्दा रास्वपाले अवसर पाएको बताउँछन् । ‘पहिलो कुरा पुराना दलप्रतिको नागरिकको विश्वास टुट्दै गयो । जनताको अपेक्षा अनुसारको काम गर्न उनीहरुले सकेनन्,’ उनले भने, ‘उनीहरुको गुनासो र असन्तुष्टिको परिणाम हो यो । नागरिकमा परिवर्तनको चाहना बढ्दै गयो । त्यो परिवर्तन पुराना नभइ नयाँबाट हुन्छ भन्ने मानसपटलमा रह्यो ।’

प्रतिक्रिया दिनुहोस्