
निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनका लागि गोरखामा ५० प्रकारका मतदान सामग्री बोकेर कर्मचारीहरु कार्यक्षेत्र लागेका छन् । सोमवार जिल्ला निर्वाचन कार्यालयबाट ती सामग्रीहरु बोकेर उनीहरु आ—आफ्नो कार्यक्षेत्र लाग्न सुरु गरेका हुन् ।
निर्वाचन गराउन खटिएका टोलीले मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर, लाहा, सिल गर्ने डोरीलगायतका ५० प्रकारका सामग्रीहरु लिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार आइतवार मतदान अधिकृतको टोलीले सवै सामानहरु रुजु गरेको र सोमवार बिहानदेखि ती सामग्रीहरु बुझेर कार्यक्षेत्र खटिन सुरु भएको हो । सोमवार साँझसम्म सवै कर्मचारीले सामानहरु बुझेर आ–आफ्नो कार्यक्षेत्र पुगिसक्ने उनले जानकारी दिए ।
जिल्लाको दुर्गम हिमाली क्षेत्रमा भने कर्मचारीहरु पुगिसकेको अवस्था छ । जिल्लाको धार्चे गाउँपालिकाको लागी केही कर्मचारीहरु आइतबार र अधिकांश सोमबार हिँडेका छन् । हिमालपारिको चुमनुब्री गाउँपालिकाका १७ मतदानकेन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी गत शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कर्मचारीहरु मतदान केन्द्रमा पुगेपछि मतदानको तयारीका लागि आवश्यक पर्ने चार किल्ला तोकेको सूचना टाँस गर्ने, प्रचारप्रसार निषेधको सूचना टाँस, सर्वदलीय बैठक लगायतका कामहरु गर्नेछन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखाका २२५ मतदानस्थलमा स्थायी ३३१ र अस्थायी २ गरी ३३३ मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा ६ जना कर्मचारीका दरले एकहजार नौसय ९२ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




