| बुधबार, फाल्गुन १९, २०८२

चिन्ता नलिन अनुरोध गरेको केही घण्टामै विदा भए दिवस

‘समाचार हेरेपछि, मलाई चिन्ता लाग्यो । यस्तो देखिन्छ कि, धेरै रिपोर्टहरू प्रसारित भइरहेका छन्, जुन पूर्ण रूपमा सही छैनन् । अबुधाबीमा रहेका हामीलाई प्रायः वास्तविक अवस्थाको प्रत्यक्ष ज्ञान हुन्छ, तैपनि समाचारले कहिलेकाहीं अतिरञ्जित वा भ्रामक जानकारी प्रस्तुत गर्दछ’, इरानी आक्रमणपछि खाडी मुलुकमा कार्यरत नेपालीका घर परिबारलाई चिन्ता नगर्न अनुरोध गर्दै अबुधावी एयरपोर्टमा कार्यरत गोरखाका दिवस श्रेष्ठले शनिबार राती ११ बजे फेसबुकमा लेखे ।

घरमा पनि सम्पर्क गरी नआत्तिन अनुरोध गरे । त्यस दिनदेखि उनी घर परिबारको सम्पर्कमा थिएनन् । गत फागुन १६ गते(फेबु्रअरी २८ तारिख) मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्न सुरु गरेपछि इरानले पनि अबुधावीस्थित अमेरिकी सैन्य बेसक्याम्पमा जवाफी हमला सुरु गरेको थियो । सोमबार अबुधावीस्थित नेपाली दूताबासबाट जिल्ला प्रशासन कार्यालय गोरखामा एकाएक एक पत्र प्राप्त भयो ।

त्यसमा भीमसेन थापा गाउँपालिका ७, साबिक (बोर्लाङ ४) ठाँटीका २९ बर्षीय दिवस श्रेष्ठको इरानी ड्रोन आक्रमणबाट दुखद मृत्यू भएको पुष्टि गर्दै आवश्यक समन्वय गरिदिन आग्रह गरिएको थियो । यो खबर उनको घरमा पुग्दा बुबा चामबहादुर श्रेष्ठले पत्याएनन् । पूर्व प्रहरी सेवामा काम गरेका श्रेष्ठले नाम जुध्न सक्ने भन्दै यो अप्रिय घटना विश्वास गरेनन् ।

‘दिवश श्रेष्ठ भन्ने मेरै छोरो हो । उ अबुधावी एयरपोर्टमा काम गर्छ । हिजो(आइतबार) बिहानदेखि सम्पर्कमा छैन’, बुबा चामबहादुर भन्छन्, ‘उसको साथीहरुसंग सम्पर्क गर्दा उ खुट्टामा चोट लागेर असपताल भर्ना भएको छ ।’ तर मृत्यू भएको भने उनले विश्वास गरेनन् । जिल्ला प्रशासन कार्यालयले मृत्यू भएका विवश चामबहादुरकै छोरा हो भनेर यैकिन गरेपछि उनी विश्वास गर्न बाध्य भए । अहिले उनी मात्र होइन, ठाँटीबासी सबै भावविव्हल बनेका छन् ।

‘पत्याउनै गाह्रो भएको छ’, उनका काका नाता पर्ने प्रदीप श्रेष्ठ भन्छन्, ‘सम्पर्क नभएपछि र प्रशासनले हो भनेपछि पत्याउनै पर्यो ।’ अति इमान्दार, मिलनसार, मृदुभाषी दिवसको मृत्यूको खबरले ठाटी गाउँ शोकमा डुबेको उनको भनाइ छ ।
घरमा दिवशका बुबा, आमा र हजुरआमा मात्र बस्छन् । एउटी दिदीको बिहे भइसकेको छ ।

आमा पवित्रा श्रेष्ठ सुत्केरी छोरी अस्मिताको स्याहासुसार गर्न काठमाडौंमै छिन् । ‘यस्तो खबर आएपछि आफन्तहरु आमालाई लिन काठमाडौं गएका छन्’, दिवसका काका नाता पर्ने प्रदीप श्रेष्ठ भन्छन्, ‘पोहोरको दशैंमा आएको थियो । आउँदो दशैंमा आएपछि बिहे गर्ने भन्ने सल्लाह भएको थियो तर यस्तो दुखद खबर आएको छ ।’

दिवस कक्षा १० सम्म सरस्वती मावि बोर्लाङमा पढेर काठमाडौं गएर ओभरसियर पढेका थिए । तर पढेअनुसार स्वदेशमा रोजगारी नपाएपछि उनी विदेशिन बाध्य भएका थिए । उनी बिगत पाँचबर्षदेखि अबुधावीमा रहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्