
गोरखाका १८८५ जना किशोरीहरुलाई आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
आज (माघ २७) गतेबाट गोरखामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभि खोप अभियान संचालन हुँदै छ । अभियानअन्तरगत जिल्लाभर एकहजार आठसय ८५ बालिकाहरुलाई एचपिभि खोप लगाउने लक्ष्य प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको छ ।
जिल्लाभर कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई लक्षित गरी खोप अभियान संचालन गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । ‘स्कुल नजानेहरुको हकमा भने १० बर्ष उमेर समूहका किशोरीहरुलाई मात्र यो खोप दिन्छौँ’, उनले भने । अघिल्लो वर्षभन्दा यस वर्ष खोप लगाउन मापदण्ड फरक रहेको उनले बताएका छन् । अघिल्लो वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र १०–१४ वर्षका किशोरीलाई खोप लगाएकोमा यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने र विद्यालयबाहिरका १० वर्षका किशोरीलाई खोप दिइने उनको भनाई छ ।
फागुन १ गतेसम्म संचालन हुने अभियानमा लक्षित उमेर समूहका विद्यालय जाने १८ सय ७४ र विद्यालय नजाने ११ जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको उनले जानकारी दिए । उनका अनुसार निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाइनेछ । खोप अभियान संचालनका लागि जिल्लाभर एकसय ७३ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
गत वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १०–१४ वर्षका आठहजार एकसय ४५ जनालाई खोप लगाइएको थियो । गत वर्ष अभियानका रूपमा लगाइएको खोप यस वर्ष नियमित लगाउन सुरु गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्म जन्मिएकाले यो खोप नपाएकाले गत वर्षदेखि खोप अभियान प्रारम्भ भएको थियो । जनस्वास्थ्य कार्यालयले खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन आग्रह गरेको छ ।




