
शहिद लखन गाउँपालिकाका कर्मचारी र कार्यालय सहयोगीलाई प्रशिक्षण
सबै तहका कर्मचारी र कार्यालय सहयोगीहरुलाई सशक्त बनाउने र सेवा प्रबाहलाई प्रभावकारी बनाउने उद्देश्यले सहिद लखन गाउँपालिकाले माताहतका सबै कर्मचारी र कार्यालय सहयोगीलाई प्रशिक्षित गराएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल र गाउँपालिकाको संयुक्त आयोजनामा प्रशिक्षण गराइएको हो ।
गत शुक्रबार र शनिबार कार्यालय सहयोगीहरुलाई र आइतबार र सोमबार कर्मचारीहरुलाई प्रशिक्षण गराइएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।
‘विशेषगरी टिप्पणी लेखनमा पोख्त बनाउन, खरिद ऐनसम्बन्धमा दक्ष बनाउन र पञ्जिकरणमा निपूर्ण बनाउन प्रशिक्षण दिइएको हो’, उनले भने, ‘कार्यालय व्यवस्थापन, पत्र व्यवहार र सूचना अधिकारीले गर्नुपर्ने व्यवहारका बारेमा पनि प्रशिक्षित गरियो ।’
त्यसअघि कार्यालय सहयोगीहरुलाई अतिथि सत्कार गर्ने तरिका, पत्र व्यवस्थापन गर्ने विधि, कार्यालय सरसफाइ गर्ने तौरतरिका, फाइल ब्यबस्थापन गर्ने विधि र सेवाग्राहीको गुनासो सम्बन्धित शाखा तथा सम्बन्धित अधिकारीसम्म पु¥याउने विधिका बारेमा प्रशिक्षित गरिएको गाउँपालिकाका प्रमुख रमेश थापा मगरले जानकारी दिए ।
उपनिर्देशक हरिकृष्ण कोइराला, अनुसन्धान अधिकृत हेमराज थापा, अधिवक्ता तथा पूर्वकर्मचारी कृष्णप्रसाद अधिकारीहरुले सहजिकरण गरेको सो तालिममा वडा सचिवहरु, विभिन्न शाखाका प्रमुख तथा अन्य कर्मचारीहरु सहभागी थिए ।




