| बुधबार, माघ २८, २०८२

गोरखाको लाप्राकबासीले धुमधामले गरे ‘मकै विवाह’

जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानहरुले कृष्ण प्रतिपदाको तिथिको लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले बिबाह सम्पन्न गरेका छन् ।

बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक, साँस्कृतिक मान्यता अनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन् । ‘मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘यसपालि माघ शुक्ल पूर्णिमामा गाउँमा सिमेभुमे पूजा भयो । त्यसलगत्तै लगन छोपेर शुक्रबार मकैको बिहे गरेका हौैँ ।’

उनका अनुसार शुक्रबार लाप्राकका गाउँले नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् । गाउँले सबै मकैको जन्ती गए, नाचगान गरे र मकैको भोज भतेर खाए । उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ । अरु गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन् ।

प्रकृति पुजक यहाँका बोन धर्मावलम्बीहरु मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस भनेर यहाँ मकैको विहे गर्ने गरेको अर्का स्थानीय राम गुरुङ बताउँछन् । ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ ।

विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलोआँगनमा जम्मा हुन्छन् । अनि सिंगारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुदै केही पर जंगलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङको भनाइ छ ।

बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै विहे समापन हुने गुरुङ बताउँछन् । ‘यो पुरानो परम्परा हो, यसरी मकैको विहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ । विहे नगरी मकै लगाउदा अशुभ हुन्छ भन्ने मान्यता छ’, स्थानिय मार्सिङ गुरुङले भने । लाप्राक बासीले हरेक वर्ष माघको अन्तिम तथा फागुन महिनाको पहिलो हप्ताभित्र मकैको विवाह सम्पन्न गर्ने गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्