
गोरखा उवासंघको योजना तर्जुमा गोष्ठी सम्पन्न
गोरखा उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । तनहूँको भानु नगरपालिका–९ स्थित ग्रिनहिल भिलेज सामु्दायिक होम स्टे मा भएको गोष्ठीले संघको आगामी तिन बर्षको कार्ययोजना तयार गरेको छ । सक्षम एवं प्रविधिमैत्री सचिवालय निर्माण गर्ने तथा संघसंस्थाहरुबीच सम्बन्ध र समन्वय स्थापना गर्ने कार्ययोजना तयार गरिएको संघका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले बताए ।
व्यवसाय बिकास प्रवद्र्धनका लागि वकालत तथा पैरवी गर्ने, व्यवसाय बिकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गर्ने र आर्थिक स्रोतले सम्पन्न संघको निर्माण गर्ने कार्ययोजना समेत रहेको उनले जानकारी दिए । ‘सदस्यता अभिवृद्धि गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने योजना पनि तयार गरिएको छ,’ उनले भने ।
कार्ययोजना तयारका लागि चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसी र कार्यक्रम अधिकृत गणेश सुवेदीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । गोरखा उवासंघका जिल्ला अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षता तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको प्रमुख अतिथ्यतामा गोष्ठी सम्पन्न भएको थियो ।




