| बुधबार, माघ २८, २०८२

गोरखा अस्पतालको ‘उकालो फाल’

व्यवस्थापन तथा स्रोतसाधनको दुरावस्थाका कारण केही बर्षअघिसम्म गोरखा अस्पतालको अवस्था दयनीय थियो । सन्तोषजनक उपचार सेवाका लागि सेवाग्राहीहरु खर्चको पर्वाह नगरी जिल्लाबाहिर वा जिल्लाकै अन्य स्वास्थ्य संस्था धाउन बाध्य थिए ।

तर बिगत पाँचबर्षयता गोरखा अस्पतालको उकालो फाल(फड्को) सुरु भएको छ । भवन, उपकरण लगायतका भौतिक साधन, स्रोत, पूर्वाधार, विशेषज्ञ जनशक्ति र सही व्यवस्थापन सुरु भएदेखि अस्पतालको उकालो फाल सुरु भएको हो । अहिले गोरखा अस्पतालमा धेरै उपचार सेवा विस्तार भइरहेका छन् । एक बर्षभित्रै धेरै सेवा सुविधाहरु थप भइरहेका छन् । जसले गर्दा विरामीहरु गुणस्तरीय सेवा लिन जिल्ला बाहिर तथा अन्य वैकल्पिक स्वास्थ्य संस्था धाउन बाध्य छैनन् ।

हालसालै गोरखा अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । समितिको पहिलो बैठकले नाक, कान, घाँटी, छाला रोगलगायत आवश्यकता अनुसारका विशेषज्ञ सेवा विस्तार गर्न पहल गर्ने निर्णय गरेको छ । साथै बैठकले विशेषज्ञ सेवा तथा प्रयोगशाला सेवा बिस्तार गर्ने निर्णय गरेको छ ।

अब विविध कारणवश हाल सेवा प्रवाह रोकिएको मानसिक रोग सेवालाई निरन्तरता दिने र नयाँ सेवाको रुपमा इण्डोस्कोपी सेवा र प्रयोगशालामा गरिने विभिन्न १७ किसिमका नयाँ परीक्षण सेवाहरु थप गरी सेवा सुरु हुने भएको छ । अस्पतालको सेवा प्रवाहलाई सुदृढिकरण गर्नका लागि अस्पताल व्यवस्थापन समिति अन्तरगत रहने दरवन्दी संरचनाको पुनरावलोकन गर्न आवश्यक परेकाले सोको पुनरावलोकनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रक्रिया अगाडि बढाउने भएको छ ।

नयाँ समितिको यो कदमले गोरखा अस्पतालले थप नयाँ उचाइ लिने विश्वास लिन सकिन्छ । लामो समय सो अस्पतालमा सेवा गरेर निवृत्त जीवनमा प्रवेश गरेका कृष्ण ढकालले अस्पतालाई नयाँ आयाम दिने प्रतिज्ञा गरेका छन् । सबैको सकारात्मक साथ र सहयोग मिलेमा गोरखा अस्पताल सर्वसाधारण बिरामीको सेवाको केन्द्र बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्