
धार्चे बन्यो गाउँबासीको सुख–दुःखको सारथी
केहीदिन अघि धार्चे गाउँपालिकाले आफ्ना पालिकाभित्रका अपांग, अशक्तहरुलाई सहयोगी सामग्री वितरण गरेर अभिभावकत्व बहन गरेको छ ।
साँच्चै स्थानीय सरकार भनेको नागरिकको सबैभन्दा नजिकको अभिभावक हो । जब नागरिकलाई अभाव र अप्ठ्यारो पर्छ, तब उसले सबैभन्दा पहिले आफ्नो आँगनको सरकारलाई सम्झिन्छ । हालै गोरखाको धार्चे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि जुन मानवीय कार्य गरेको छ, यसले स्थानीय सरकार हुनुको वास्तविक अर्थ र महत्वलाई प्रष्ट पारेको छ ।
धार्चे गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी सेतो छडी, ह्वीलचेयर, वैशाखी, चस्मा र श्रवणयन्त्र जस्ता सहयोगी सामग्री वितरण गरेको छ । यो केवल भौतिक सामग्रीको वितरण मात्र होइन, बरु राज्यको मूल प्रवाहबाट टाढा रहेका नागरिकलाई‘ूहामी तिम्रो साथमा छौँ’ भन्ने भरोसाको सञ्चार पनि हो ।
एउटा दृष्टिविहीनका लागि सेतो छडी उसको आँखा बन्न सक्छ, हिँड्न नसक्नेका लागि ह्वीलचेयर उसको खुट्टा बन्न सक्छ र सुन्न नसक्नेका लागि श्रवणयन्त्र उसको संसारसँग जोडिने माध्यम बन्न सक्छ। यस्ता कार्यले अपाङ्गता भएका व्यक्तिहरूको आत्मबल मात्र बढाउँदैन, उनीहरूको दैनिक जीवनयापनलाई समेत सहज र मर्यादित बनाउँछ ।
संघीयताको मर्म नै जनताको घरदैलोमा सेवा पु¥याउनु हो । ठूला विकासका योजना र भौतिक पूर्वाधार निर्माण गर्नु मात्र स्थानीय सरकारको दायित्व होइन । समाजका असहाय, अशक्त र पिछडिएका वर्गको आँसु पुछ्नु र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु झन् ठूलो उपलब्धि हो । धार्चेले देखाएको यो सक्रियताले एउटा मिठो सन्देश प्रवाह गरेको छ— दुःख परेका बेला हेर्ने हाम्रो आफ्नै स्थानीय सरकार छ ।
यद्यपि, यो कार्य धार्चे गाउँपालिकामा मात्र सीमित हुनु हुँदैन । देशका अन्य धेरै पालिकाहरूमा अझै पनि लक्षित वर्गका कार्यक्रमहरू कागजमा मात्र सीमित हुने वा झारा टार्ने किसिमका हुने गरेका छन् । धेरै ठाउँमा बजेटको अभाव भन्दा पनि इच्छाशक्तिको अभाव देखिन्छ ।
तसर्थ, अन्य पालिकाहरूले पनि धार्चेको यो कार्यबाट पाठ सिक्न जरुरी छ । आफ्ना नागरिकका साना तर आधारभूत आवश्यकताहरू पहिचान गरी सोही अनुसारको अभिभावकत्व ग्रहण गर्नु आजको आवश्यकता हो ।




