| बुधबार, फाल्गुन २६, २०८२

गोरखामा ३४ बर्षीय कांग्रेस–माओवादीको गढ भत्कियो

बिकास मरहट्टा ।
‘डनको पकड्ना मुश्किल ही नही, नामुमकिन हे ।’
अमिताब बचनद्धारा अभिनित ‘डन’ फिल्मको यो डायलगमा भनेजस्तै २०४६ सालको बहुदल यताका निर्वाचनमा आलोपालो पल्लाभारी हुदैं आएका कांग्रेस–माओवादीको गढ भत्काउन जिल्लामा मुश्किल मात्र होइन ‘नामुमकिन’ जस्तै थियो ।

२०४८ सालको निर्वाचनदेखि २०७९ सम्म सत्तामा आलोपालो उनीहरुकै वर्चश्व रह्यो । गठबन्धनको पोकाले अन्य दलहरु शीर उठाउन नसक्ने गरी थिचिएका थिए । तर ३४ बर्षदेखिको कांग्रेस–माओवादीको गढ यो निर्वाचनमा भत्कियो । जिल्लाको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेपछि कांग्रेस–माओवादीको सत्ताको बलियो जग ढल्यो ।

विगतका निर्वाचनलाई फर्केर हेर्दा
२०७४ सालअघि गोरखामा तीन वटा निर्वाचन क्षेत्र थिए । सबैभन्दा पहिले गोरखा क्षेत्र नम्वर १ को कुरा गरौ । २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा कांग्रेसका चिरञ्जिवि वाग्लेको वर्चश्व रह्यो । तिन वटै निर्वाचन जितेर ह्याट्रिक गर्न सफल भए । राजतन्त्रको बहिरगमन र लोकतन्त्रको आगमन पश्चात २०६४ सालमा भएको निर्वाचनमा माओवादीकी पार्वती थापा श्रेष्ठ बिजयी बनिन् । २०७० र २०७४ मा माओवादीलाई नै जनताले चुने । २०७० सालमा डा. बाबुराम भट्टराई र २०७४ मा हरिराज अधिकारी निर्वाचित भएका थिए । २०७९ मा माओवादी र कांग्रेसबीच भागवण्डा भयो । यो क्षेत्र कांग्रेसको भागमा प¥यो । गठबन्धनको सहाराले कांग्रेसका राजेन्द्र बजगाई बिजयी बने ।

गोरखा क्षेत्र नम्वर २ बाट पनि हालसम्म कांग्रेस–माओवादी नै आलोपालो सरकारमा पुगे । २०४८ सालमा कांग्रेसकी मैयादेवी श्रेष्ठ बिजयी बनिन् । २०५१ र २०५६ सालको निर्वाचनमा कांग्रेसकै कमला पन्त हावी भइन् । २०६४ र २०७४ सालको निर्वाचन तत्कालिन माओवादीका डा. बाबुराम भट्टराईले जिते । २०७० सालको निर्वाचनमा माओवादीकै हितराज पाण्डे बिजयी बने । २०७९ सालको निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा प्रचण्ड निर्वाचित भए र प्रधानमन्त्री समेत बने ।

गोरखा क्षेत्र नम्वर ३ बाट पनि कांग्रेस माओवादीले आलोपालो सत्तामा बर्चश्व जमाए । २०४८ र २०५१ को निर्वाचनमा कांग्रेसका चिनकाजी श्रेष्ठ बिजयी बने । २०५६ सालको निर्वाचनमा पनि कांग्रेसकै हरिलाल श्रेष्ठ उदाए । २०६४ मा तत्कालिन माओवादीका अमर तमु निर्वाचित भए । २०७० को निर्वाचन माओवादीकै छमबहादुर गुरुङले जिते । त्यसयता गोरखामा दुई वटा निर्वाचन क्षेत्र कायम भयो ।

यी चुनावी मतपरिणामले गोरखामा कांग्रेस–माओवादीको सत्ताको जग निकै बलियो देखाउँछ । संघियमात्र होइन यसअघिका स्थानीय र प्रदेश तहको निर्वाचनमा पनि उनीहरु नै हावी छन् । तर यो पटक उनीहरुको सत्ताको जग डगमगायो । उनीहरुको ३४ बर्षीय आलोपालो सत्ताको किल्ला ढलाउँदै दुवै निर्वाचन क्षेत्रमा रास्वपाको उदय भयो । गोरखा–१ मा सुधन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी बिजयी भए । त्यो पनि फराकिलो मतान्तरले ।

किन कमजोर बने कांग्रेस–माओवादी
यसअघिका चुनावमा जनताले पटक–पटक कांग्रेस माओवादीलाई बिश्वास गरे । करिव ३४ बर्ष उनीहरु आलोपालो सत्तामा पुगे । उनीहरुले चुनेर पठाएकाहरु प्रधानमन्त्री समेत बने । तर आश्वासनका ठेलीबाहेक जनताले केही पाएनन् । पटक पटक धोका खाएपछि रुष्टिएका जनता नयाँ बिकल्पको खोजीमा थिए । गुनासाका पोका फुकाउने ठाउँ खोजिरहेका नागरिकको ‘सेन्टिमेन्ट क्याच’ गर्न रास्वपाले सही समय पायो । आफ्नो चुनावी एजेण्डाभन्दा पुराना दलप्रतिको असन्तुष्टीको ठेलि बोकेर गाउँगाउँ पस्यो । गाउँमा रहेका आमा बुवालाई ‘कन्भिन्स’ गराउन सामाजिक सञ्जालमार्फत अभियान चलायो ।

तर भुसको आगो जसरी फैलिएको रास्वपाको के्रज पुराना दलहरुले बुझ्न सकेनन् । गत निर्वाचनको मतपरिणामको आकलन गर्दै जीत सुनिश्चितताको सपना देखिरहे । पुरानै ढर्रामा निर्वाचन प्रचारप्रसारमा होमिए । अन्ततः लज्जास्पद हार व्यहोर्न पुगे ।
जिल्लामा रास्वपाको सांगठनिक स्वरुपले ठुलो आकार लिइसकेको अवस्था छैन । कांग्रेस, माओवादी र एमालेकै कार्यकर्ताको साथ रास्वपाले पाएको तितो यथार्थ छर्लङ्ग छ ।

पुराना दल छाडेर रास्वपा प्रवेश गर्नेको लर्काे थियो । पुराना दलबाट आजित जनता परिवर्तनको खोजिमा थिए । गुनासा र आक्रोशका पोकाहरु बिसाउने ठाउँ पाएका थिएनन् । बिकल्प भन्दै परिवर्तनको नारा बोकेर रास्वपा गाउँ पस्यो । नयाँ बिकल्पको खोजिमा रहेका उनीहरु यो पटक रास्वपालाई परीक्षण गर्न तयार भए । अनि ब्यालेट बक्समार्फत उनीहरुलाई चुने । अनि ढल्यो कांग्रेस–माओवादीको किल्ला ।

प्रतिक्रिया दिनुहोस्