| बुधबार, फाल्गुन २६, २०८२

एएफपिएनको पारामेडिकल छात्रवृत्ति कार्यक्रमको ३० वर्ष पूरा

गोरखाको हिमाली तथा दुर्गम क्षेत्रका जनताका लागि आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फ्रान्सको एएफपिएन र नेपालस्थित बिसिएम प्रतिष्ठानको संयुक्त पहलमा सुरु गरिएको पारामेडिकल छात्रवृत्ति कार्यक्रमले यस वर्ष ३० वर्षको गौरवमय यात्रा पूरा गरेको छ ।

वि.सं. २०५० को दशकबाट सुरु गरिएको यो कार्यक्रमको मूल लक्ष्य दुर्गम हिमाली भेगका आर्थिक रूपमा कमजोर तर इच्छाशक्ति भएका विद्याथीएहरूलाई स्वास्थ्य शिक्षामा पहुँच दिलाई, आफ्नै समुदायमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्नु हो । विगत तीन दशकको अवधिमा यस कार्यक्रम अन्तर्गत कुल १८० जना विद्यार्थीहरूले पारामेडिकल अध्ययन सफलतापूर्वक पूरा गरिसकेका छन् ।

यी विद्यार्थीहरूले सिएमए, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, तथा ल्याब टेक्निसियन जस्ता अत्यावश्यक स्वास्थ्यसम्बन्धी विषयहरूमा अध्ययन गरेका छन् । उनीहरूले प्राप्त गरेको ज्ञान र सीप आज गोरखाका हिमाली तथा दुर्गम गाउँहरूमा प्रत्यक्ष रूपमा जनताको सेवामा प्रयोग भइरहेको छ ।

कार्यक्रमको विशेषता भनेको छात्रवृत्ति मात्र प्रदान गरेर जिम्मेवारी समाप्त नहुनु हो । छात्रवृत्ति प्राप्त गरेका प्रत्येक विद्यार्थीले अध्ययन समाप्त गरेपछि कम्तीमा २ देखि ३ वर्ष अनिवार्य रूपमा दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ । यस प्रावधानले गर्दा दुर्गम गाउँहरूमा दीर्घकालीन रूपमा स्वास्थ्य सेवा बलियो बन्न सहयोग पुगेको छ ।

यस कार्यक्रमको निरन्तर सफल सञ्चालनमा एएफपिएन, फ्रान्सका प्रतिनिधि डा. फ्रांस्वाज हल्वाक तथा बिसिएम नेपालका अध्यक्ष बद्री मास्केको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ । छात्रवृत्ति दाताहरूको दूरदृष्टि, प्रतिबद्धता र मानवीय सेवाभावले फ्रान्स र नेपाल बीचको यो सहकार्यलाई मजबुत बनाएको छ ।

३० वर्षको यो अभियान केवल संख्यात्मक उपलब्धिमा सीमित छैन । यसले दुर्गम क्षेत्रमा स्वास्थ्य चेतना बढाएको, मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग पु¥याएको, र स्थानीय युवालाई आफ्नै भूमिमा सेवा गर्ने अवसर प्रदान गरेको छ । यो कार्यक्रम गोरखाको हिमाली भेगका लागि मात्र नभई, नेपालभर अनुकरणीय नमुना बनेको छ ।

आगामी दिनहरूमा पनि एएफपिएन र बिसिएम प्रतिष्ठानको सहकार्यले अझ धेरै विद्यार्थीलाई स्वास्थ्य शिक्षामा पहुँच दिलाउने र दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा दीर्घकालीन योगदान पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्