
निवासमै पुगेर प्रधानमन्त्री ओलीले आज साँझ मोदीलाई भेट्ने
काठमाडौँः भारतको तीन दिने राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन्।
भारतको विदेश मन्त्रालयले उपलब्ध गराएको मिडिया एडभाइजरी अनुसार प्रधानमन्त्री ओलीले साँझ सवा ५ बजेको नेपाली दूतावासले आयोजना गर्ने नेपाली समुदायसँगको अन्तक्रिया सकेर मोदीलाई भेट्न उनको निवासमा पुग्ने छन्।
दुई देशबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा भोलि बिहान सवा ११ बजे मात्रै हुनेछ।
तीन दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका ओलीलाई त्यहाँ भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्री ओलीले होटल ताजको डिप्लोमेटिक इन्क्लेभमा त्यहाँका व्यापारीहरुसित शुक्रबार पौने १ बजे भेट्ने कार्यक्रम थियो।

