| आइतवार, बैशाख १४, २०८२

अब तरकारीको सिन्डिकेट तोड्नु पर्छ ः मन्त्री खनाल

अब तरकारीको सिन्डिकेट तोड्नु पर्छ ः मन्त्री खनाल

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने, ‘कृषकहरुलाई फाइदा हुनेगरी म कदम चाल्छु, तरकारीमा रहेको सिन्डिकेट अब तोडिन्छ ।’

‘सिन्डिकेटबारे हामीले केही गर्नैपर्दैन, कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ, जसले उत्पादन गर्छ, उसैलाई दिने व्यवस्था गर्छौँ’, साक्षात्कारमा मन्त्री खनालले भने, ‘कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने, किसानले सीधै पहिलो स्टेनशनबाट उठाएर उत्पादन बजारमा ल्याउने गर्नुभयो भने मलाई लाग्छ सिन्डिकेट हट्छ र हटाउनैपर्छ, तर केही समय लाग्छ, सिन्डिकेट तोड्नैपर्छ।’

आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रम ल्याउने पनि उनले खुलासा गरे । ‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ’, उनले भने, ‘अहिले २६ जिल्लामा वितरण हुँदैछ ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको उनले स्पष्ट पारेका छन् । उनले भने, ‘पार्टी एकताबारे अहिले बाहिर आशंका छ, तर हामी सबैखाले आशंका मेटाउँदै एकता हुन्छ ।’

मन्त्री खनालले एकताबारे सबै कुराहरु मिलाएर अघि बढ्ने विश्वास दिलाए । उनले भने, ‘जसरी हामीले वाम गठबन्धनपछि प्रतिवद्धता जारी गरेका थियौं, हामीले समृद्धिको योजना सार्वजनिक गरेका थियौं, अबको हाम्रो लक्ष्य भनेको समाजवाद नै हो, हामीहरुबीच सबै कुरा मिल्छ, केही प्राविधिक कुराहरु मिल्न बाँकी छन्, हामी मिलाउँछौं।’

प्रतिक्रिया दिनुहोस्