
मोदीका बाचा भाषणमै सीमित
‘अमेरिका टेलिफोन कर्ने बहुत सस्ते पड्ते है लेकिन नेपाल फोन कर्नेके लिए बहुत महंगे है, भारतमे हुए लाखौं नेपाली लोग नेपाल फोन कर्के नमस्ते कर्के रख्ते है ।’ चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहानुभूतिको शैलीमा नेपालको संसदमा बोलेको वाक्यांश हो यो ।
भारतबाट नेपालमा फोन गर्न धेरै महंगो भएको भन्दै मोदीले नेपालको संसदमा संबोधन गर्ने क्रममा भारतबाट फोन गर्दा लाग्ने रकम सस्तो हुने वाचा गरेका थिए । तर उनले भाषण गरेको चार वर्ष बित्न लाग्दा पनि भारतबाट नेपाल फोन गर्दा न्यूनतम १३ रुपैयाँ लाग्छ । नेपालबाट भने भारत फोन गर्न प्रतिमिनेट ४ रुपैयाँ (करसहित) लाग्ने गरेको छ ।
नेपालको संसदमा भाषण गरेर वाहवाही कमाएका मोदीले ४५ मिनेट भाषण गर्दा नेपाल र भारतबीचका थुप्रै समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर उनले गरेका घोषणा तत्कालका लागि वाहावाही पाउने बाहेक उपलब्धिपूर्ण भएको छैन ।
पञ्चेश्वरको उस्तै हालत
बहुचर्चित पञ्चेश्वर परियोजनाबारे मोदीले संसदमा भाषण गर्दै एक वर्षभित्र ५ हजार ६ सय मेगावाटको काम शुरु हुने र त्यसबाट नेपालसँग भएको विद्युतमा पाँच गुणा थपिने आवश्वासनसहित प्रतिबद्धता जनाएका थिए । उनले संसदमा निकै दुःख व्यक्त गरेकै शैलीमा २२ वर्षअघिको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।