
कांग्रेसको केन्द्रीय समिति बैठकमा, नेविसंघको नाराबाजी
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।
साेमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गरेका हुन् । धर्ना र प्रर्दशनपछि सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएकाे थियाे । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले नेविसंघकाे मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने वचन दिएको काफ्लेले बताए।
साे अघि नेविसंघका कार्यकर्ताले सभापति देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित र कमजोर हुन पुगेको, नेविसंघका अध्यक्षले पनि संगठन स्वेच्छाचारी ढंगले चलाएको लगायतका आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण बन्द गर्नुपर्ने, संगठनलाई पारदर्शी बनाउन तत्काल महाधिवेशनको मिति तोकिनुपर्नेलगायतका माग समेत गरेका थिए ।