| शुक्रबार, बैशाख ७, २०८१

आईजिपी अर्यालका १२ महिना : चुनाबलाई सुरक्षा दिए, जवानलाई पोशाक दिन सकेनन्

महानिरीक्षकका रुपमा १२ महिने कार्यकालमा प्रकाश अर्यालले देशमा तीन दलका तीन प्रधानमन्त्री र गृहमन्त्रीसँग कामगर्ने मौका पाए।

 

नियुक्तिका समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र कांग्रेसका बिमलेन्द्र निधी गृहमन्त्री थिए।

केही महिनापछि कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादी केन्द्रका जर्नादन शर्मा गृहमन्त्री बने। अहिले अवकाश हुने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका रामबहादुर थापा गृहमन्त्री छन्।

तीनै दलका प्रधानमन्त्री र गृहमन्त्रीसँग सन्तुलित रूपमा काम गरेर अवकाश पाउँदै गरेका अर्यालकाे अन्र्तमुखी स्वभाव र ढृढ व्यवहार प्रहरी संगठनका लागि सहयोगी भएको धेरैको बुझाइ छ।

तीन तहको चुनाबलाई सुरक्षा
महानिरीक्षक अर्यालले देशमा भएका तीन तहका निर्वाचन सफलता पूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिका सधैँका लागि स्मरणीय रहनेछ। यस्तै निकै दवाबमा पनि अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखामा गलत प्रवृतिका बदनाम प्रहरी अधिकारीको सरुवा रोक्नमा उनी सफल रहे जसले गर्दा उनकाे कार्यकालमा प्रहरीले संगठित अपराधविरूद्ध राम्राे सफलता हात पार्न सक्याे।

मुलुककाे राजनीतिक रूपान्तरण र संघीयता कार्यान्वयनका लागि गत माघसम्म तीन तहकाे निर्वाचन अनिवार्य थियाे। निर्वाचन हुने/नहुने धेरैले शंका ब्यक्त गरिरहेका बेला भयरहित वातावरणमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दा नेपाल प्रहरीकाे सुरक्षा कमाण्ड अर्यालले ने गरे।

अपराध अनुसन्धान र व्यवस्थापनमा विशेष दख्खल राख्ने अर्यालले आफ्नो कार्यकालमा भावी महानिरीक्षकका रुपमा रहेका सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्कीसहितका सबै अधिकारीलाई उचित र क्षमता अनुसारको जिम्मेबारी दिन सरकारसँग पहल गरेका थिए। देशमा संघीय प्रहरीको जग बसाल्ने कार्यमा समेत अर्यालको योगदान रह्यो।

प्रहरीलाई पोशाक दिन सकेनन्
पूर्ववर्ती देउवा सरकारले गरेका सरुवा र बढुवा रोक्न भने उनले सकेनन्। जसले गर्दा कमाउ अड्डामा पुगेका लालची प्रहरी अधिकारीहरु घुसकान्डमा पक्राउ परे। प्रहरीकै मिलेमतोमा बलात्कारी भगाउनेजस्ता जघन्य अपराधका घटना हुन पुगे।
आईजिपी अर्यालले आफ्नो कार्यकालमा भरसक विवादमा आउने खरिद प्रक्रियालाई अघि बढाउन नचाहेकाे देखियाे। यसको परिणामस्वरूप तल्लो तहका ७७ प्रतिशत प्रहरी न्युनतम पोशाक सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था अाएकाे छ। प्रहरी लत्ता–कपडा, राशन तथा अन्य सुविधा बढाउन महानिरीक्षक अर्यालले उदासिनता देखाउँदा तल्लो तहका प्रहरी अधिकारी माझ उनी प्रिय हुन सकेका छैनन्।

प्रहरी सेवाका ३० वर्षमा जिल्ला, अञ्चल र क्षेत्रको कमाण्ड सम्हालेका अर्याल आर्थिक मामिलामा तुलनात्मक रुपमा स्वच्छ छवि र कडा मिजासका अन्तरमुखी प्रहरी अधिकारीका रुपमा परिचित छन्। केन्द्रीय अनुसन्धान ब्युरोमा रहँदा नेपाल भएर हुने चिरुको रौंको संगठित तस्करी रोकेका उनी सुनको सुराकी काण्डमा नियोजित रुपमा फसाइएका थिए। प्रहरी सेवामा गुण्डा नाईके चर्के मिलन भन्ने मिलन गुरुङलाई रुपन्देहीबाट पक्राउ गरेका अर्यालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा आधुनिक ट्राफिक पोस्टहरु बनाएका थिए।

२०४४ चैत २९ मा प्रहरी निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका अर्याल असार १४, २०२० मा दाङको मध्यमवर्गीय परिवारमा जन्मिएका हुन। उनी आज बुधबार साँझ प्रहरी प्रधान कार्यालयमा आयोजना गरिने विशेष कार्यक्रममा नव नियुक्त महानिरीक्षक सर्वेन्द्र खनाललाई नेतृत्व सुम्पेर विदा हुनेछन्।  news source nepalkhabar

प्रतिक्रिया दिनुहोस्