
पोखरा लेखनाथ महानगरको नाम छोट्याउने एमाले निर्णय
प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने विषय टुंगो लगाउन समिति नै गठन भएको बेला एमाले कास्कीले भने पोखरा लेखनाथ महानगरपालिकाको नाम छोट्याउने प्रस्ताव गरेको छ।
एमाले कास्कीको शुक्रबार बसेको बैठकले ‘पोखरा लेखनाथ महानगरपालिका’ नाम नै लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा बनाउने निर्णय गरेको हो।
एमाले कास्कीको बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १९ का अध्यक्ष एवं एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेललाई महानगरको अबको बोर्ड बैठकमा ‘लेखनाथ’ हटाउने प्रस्ताव लैजान लिखित रुपमै निर्देशन दिएको हो।
एमाले अध्यक्ष एवं प्रदेश सांसद कृष्ण थापाका अनुसार जनप्रतिनिधि निर्वाचित भएको लामो समयसम्म पनि नाम छोट्याउने काम नभएपछि प्रदेश संयोजक किरण गुरुङ समेत उपस्थित बैठकबाटै यस्तो निर्णय गरिएको हो। निवाचनका बेला एमालेले पहिलो नगरसभाबाटै लेखनाथ हटाउने प्रतिबद्धता ब्यक्त गरेको थियो। पोखरा लेखनाथ महानगरका वर्तमान मेयर लेखनाथ क्षेत्रमा पर्ने कालिकाका बासिन्दा हुन्। कृष्ण थापा भने तत्कालीन पोखरा उपमहानगपालिकाका मेयर हुन्।
२०७३ फागुन २७ गते संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले तत्कालीन पोखरा उपमहानगपालिकामा साबिकको लेखनाथ महानगरपालिका समेत गाभेर पोखरा लेखनाथ महानगरपालिका घोषणा गरेको थियो। सो उपक्रममा महागरमा तत्कालीन मौजा, चापाकोट र भदौरे तामागीका ३ र ९ वडा,कास्कीकोट र माझठानाको १,४ र ९ नम्बर वडा र पुरञ्चौर गाविस र कालिका गाविसको केही वडाहरु पनि गाभेर ३३ वटा वडा बनाइएको थियो।
नेकपा एमाले कास्कीले पोखरा महानगरपालिका नामकरण गर्न निर्देशन दिएको छ। एमाले कास्कीको शुक्रबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न निर्देशन दिएको हो। एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानिय तहको निर्वाचनका बेलानै लेखनाथ हटाएर पोखरा महानगरपालिका बनाउने भाषण गरेका थिए।
एमाले कास्कीको बैठकले जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहालको स्मृतिमा बृहत कार्यकता भेला आयोजना गर्ने निर्णय गरेको छ। पोखरा सभागृहमा हुने कार्यकता भेलालाई एमाले महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरलले सम्बोधन गर्नेछन्।