| शनिबार, बैशाख ८, २०८१

देश विकासको ढोका खुल्यो ः राष्ट्रपति भण्डारी

काठमाडौँ ः राष्ट्रपति विद्यादेवी भण्डारीले दलगत स्वर्थभन्दा माथि उठेर जनताको चाहनाअनुसार काम गर्न संघीय संसदका सदस्यहरूलाई निर्देशन दिएकी छन्। बिहीबार संघीय संसदका दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्दै उनले अब दलगत स्वार्थ त्यागेर जनताको आशा र भरोसाअनुसार काम गर्न दुवै सदनका सांसदलाई निर्देशन दिएकी हुन्। राजनीतिक हिसाबमा सत्ता पक्ष र प्रतिपक्ष हुने भए पनि संदनमा मतदाता र जनताको आशा र भरोसाको सम्मान गर्नुपर्ने उनले बताइन्।

उनले अब देशमा राजनीतिक संक्रमणकाल अन्त्य भएको बताउँदै भनिन्,‘लामो समयदेखिको राजनीतिक संक्रमणकाल अब अन्त्य भएको छ। अब विकास र समृद्धिको ढोका खुलेको छ।’ उनले अब देश कुनै पनि प्रकारका हिंसामा जान नहुने बताइन्। संघीय संसद विविधताभित्रको एकताको एक उत्कृष्ट उदाहरण भएको उनको भनाइ थियो। ‘४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गराएको छ। यो संसद नेपालमा भएको विविधताभित्रको एकताको उत्कृष्ट नमुना हो। यहाँ सबै वर्गको उतिकै सहभागिता छु, उनले भनिन्, ुयसअघि पछाडि पारिएका भनिएका वर्गको पनि अहिले उत्साहपूर्ण प्रतिनिधित्व छ।’

उनले संविधानले उल्लेख गरेअनुसारका सबै तहका निर्वाचन सम्पन्न हुनु भनेको संविधान पूर्ण कार्यान्वयनको चरणमा रहेको बताइन्। निर्वाचन सकिएपछि सबै तहमा सरकार बनिसिकेकाले अब देशमा राजनीतिक संक्रमणकाल अन्त्य भएको उनको भनाइ थियो। यो राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा ठूलो उपलब्धि भएको उनको भनाइ थियो। उनले अब देशमा लोकतन्त्रको प्रत्याभूति दिलाउनुपर्ने पनि बताइन्। उनले भनिन्, ‘लोकतन्त्र थेगो होइन, जीवन प्रणाली हो। देशको विकास गर्न सकेन भने लोकतन्त्र अर्थहीन नारा हुन्छ। अब देश विकासको सबै ढोका खुलेको छ।’

प्रतिक्रिया दिनुहोस्