| शनिबार, बैशाख ८, २०८१

कम्युनिष्ट पार्टी नफुट्ने गरी एकता हुन्छ ः प्रधानमन्त्री

प्रचण्डलाई ओलीको व्यङ्ग्य: कोहीकोहीले नेपाललाई सिंगापुर बनाउँछु भन्थे, म नेपाल नै बनाउँछु

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चैत ३० गते रारा जाने भएका छन्। कर्णाली प्रदेशले २०७५ लाई कर्णाली भ्रमण वर्ष मनाउन लागेको भन्दै प्रधानमन्त्री ओलीले आफू कर्णाली प्रदेशको पहिलो पर्यटक बन्ने बताए।

‘म चैत ३० गते नै रारा जान्छु, त्यहाँ रात बिताउँछु,’ ट्रेड युनियन महासंघ जिफन्टको सातौं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नयाँ वर्षको शुभकामना राराबाटै दिन्छु, म नयाँ वर्षकै दिन राराको पहिलो पर्यटक बन्छु।’

उनले नेपाललाई समृद्ध र विश्वकै एक नं. पर्यटकीय गन्तव्य बनाउने समेत उद्घोष गरे। ‘कोही–कोहीले नेपाललाई सिङ्गापुर बनाउँछु भने, कोही कोहीले स्वीट्जरल्याण्ड बनाउँछु भने तर म नेपाललाई नेपाल बनाउँछु,’ प्रधानमन्त्री ओलीले अगाडि भने, ‘विश्वको सुन्दर देश घुम्न लायक देश कुन हो भन्दा सबैले नेपाल भन्ने छन्, सिंगापुर र स्वीट्जरल्याण्डबाट पनि घुम्न नेपाल आउने छन्।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलधारको राजनीतिमा आएसँगै नेपाललाई सि‌ंगापुर बनाउने उद्घोष गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपालले समृद्धिको दिशामा अगाडि बढ्न लागेको भन्दै सम्वृद्धिका लागि नेपाली जनताले अहिलेको सरकार प्रति अपेक्षा राखेको बताए। ‘जनताले हामीप्रति ठूलो अपेक्षा राखेका छन्। हामीले त्यसलाई पूरा गर्नुपर्नेछ। अबको हाम्रो नीति नियमित जस्तो होइन्, हाम्रो गति नियमित जस्तो होइन्, फरक हुनेछ।’

उनले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सुरु भएको भन्दै यो अभियान आक्रमक रुपमा अगाडि बढाइने बताए।

‘अब नारा होइन आक्रमण हुन्छ, हामी सुशासनका लागि काम गर्छौँ, भ्रष्टाचारमाथि आक्रमण गछौँ, गरिबी अशिक्षा माथि आक्रमण गर्छौँ,’ उनले भने।

सरकारले जेठमा नीति तथा कार्यक्रम ल्याउने भए पनि वैशाखमै अशिक्षामाथि आक्रमण गर्ने उनले घोषणा गरे। ‘सरकारले जेठमा नीति तथा कार्यक्रम ल्याउँछ, हामी जेठ कुर्दैनौँ वैशाखमै निरक्षरता माथि आक्रमण गर्छौँ,’ उनले अगाडि भने, ‘मैले गरिब विपन्न बालिकालाई विद्यालय पुर्याउँछु, हरेक मन्त्री सांसद र निर्वाचित जनप्रतिनिधिले एउटा बालक वा बालिका विद्यालय पुर्याउने छन्।’

प्रधानमन्त्री ओलीले स्वस्थानीको कथा स्मरण गर्दै अगाडि भने, ‘आफ्ना सन्तान विद्यालयमा तपाईँले भर्ना गर्नै पर्छ, आफ्नो छैन भने मितबाको छोरो लैजानुस, त्यो पनि छैन छिमेकको लैजानु छिमेककै नभए अलि परको लैजानुस, तर लैजानुस।’ उनले यो अभियान सरकारको नभइ नेपालको अभियान भएकोले सबैले सहभागिता जनाउनुपर्ने उनको भनाई थियो।

प्रधानमन्त्री ओलीले विगतको कमजोरीलाई खोतलेर अहिलेको यात्रा रोख्न खोज्नेहरु रहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताए।

‘हाम्रो विगतको कमजोरीलाई खोतलेर हाम्रो समृद्धितर्फको यात्रा रोक्न खोज्नेहरु छन्, हाम्रोे विविधतामा खेल्न खोज्नेहरु छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी होसियार हुनुपर्छ, हाम्रो विविधता हाम्रो सम्पती हो, यसलाई कायम राख्नुपर्छ। हामीलाई लडाएर खान खोज्ने तत्वहरु धेरै छन् तीनिहरुलाई परास्त गरेर अगाडि बढ्नुछ।’

उनले देशमा हिंसा गर्न खोज्नेहरुलाई सरकारले नियन्त्रण गर्न खोज्ने बताए। प्रधानमन्त्री ओलीले नेपालको संविधान सर्व स्वीकार्य भएको भन्दै अगाडि भने, ‘कोही कोही चन्दा उठाएर खान खोज्नेहरुले संविधान मान्दिन भन्छन्, अशान्ति फैलाउन खोज्छन्, उनीहरुलाई सरकारले रोक्छ।’
कम्यूनिष्टहरुले समृद्धि ल्याउन नसक्ने भ्रम रहेको भन्दै उनले अगाडि भने, ‘भ्रम चल्ने गरेको छ कम्युनिस्ट हरु गरिबी वितरण गर्न सक्छ। समृद्धि सक्दैन अहिले नेपालमा कम्युनिस्ट सरकार छ। यही सरकारले समृद्ध नेपाल बनाउँछ।’

news source pahilopost

प्रतिक्रिया दिनुहोस्