
सडक विस्तारको विरोधकर्ता र प्रहरीबीच बानेश्वरमा झडप
काठमाडौं : सडक विस्तारको विरोधमा बुधबार पनि काठमाडौंको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रदर्शनकारीलाई हटाउन प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको थियो। त्यहीक्रममा प्रहरीले पानीको फोहोरा फाल्नुका साथै अश्रुग्यास पनि प्रहार गरेको थियो।
झडपमा केही प्रदर्शनकारी पक्राउ परेका छन् भने केही घाइते भएका छन्। गैरन्यायिक ढंगले भइरहेको सडक विस्तारको काम तत्काल रोक्न सरकारसँग माग गर्दै काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म तीन घण्टा विरोध प्रर्दशन गरिएको हो। जग्गा प्राप्ति ऐनको समेत बेवास्ता गर्दै सडक विस्तारको नाममा आफूहरूंलाई विस्तापित गरेपछि सरकारसँग न्यायको माग गर्दै विरोध प्रर्दशनलाई निरन्तरता दिनु परेको ललितपुर बाँडेगाउँका पीडित चोकबहादुर महर्जनले बताए। पीडितहरूले उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
उनीहरूले सडक विस्तारको नाममा स्थानीयबासीलाई आतंकित बनाउने काम गरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्। प्रर्दशनीमा नागरिक समाजका अगुवाहरू पदमरत्न तुलाधर, हिरण्यलाल श्रेष्ठलगायतले पनि ऐक्यवद्धता जनाएका छन्। त्यसक्रममा ललितपुरमा स्थानीयले उचित क्षतिपूर्तिको व्यवस्था नगरि काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको कामलाई अघि बढाएको भन्दै आपत्ति पनि जनाएका थिए। काठमाडौं उपत्यकाको सडक विस्तारको काम गैरन्यायिक भएको भन्दै स्थानीयबासीले तत्काल बन्द गर्न माग गर्दै सरकारलाई निरन्तर दवाव दिँदै आएका छन। उनीहरूले स्थानीयको मन्जुरी समेत नलिई सडक विस्तार गर्ने काम गर्न नपाउने कानुनी व्यवस्थाबारे पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन। प्रदर्शनीका कारण काठमाडौंको माइतीघर मण्डला वरपरको क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो।