| बिहिबार, साउन २२, २०७७

गोरखा प्रवेश गर्नेलाई क्वारेण्टाइनमा राखेर कोरोना परीक्षणको रिपोर्टको आधारमा मात्र घर पठाइने

लकडाउनका बेला गोरखा प्रवेश गर्नेलाई क्वारेण्टाइनमा राखी कोरोना परीक्षण गरेर मात्र घरमा जान दिने निर्णय भएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालयको संयोजनमा सम्पन्न सर्वपक्षीय बैठकले व्यक्तिगत वा समूहगत रुपमा जिल्लाभित्रिनेलाई क्वारेण्टाइनमा राखी कोरोना परीक्षणको रिपोर्टको आधारमा घरमा पठाउने निर्णय गरेको हो ।

सम्बन्धित पालिकाको समन्वयमा समूहगत रुपमा गोरखा प्रवेश गर्नेलाई सम्बन्धित पालिकाले व्यवस्था गरेको मास क्वारेण्टाइनमा राख्ने, कोरोना परीक्षण गर्ने र नतिजाको आधारमा उनीहरुको घर पठाउने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘यदि कोही अनौपचारिक ढंगले व्यक्तिगत रुपमा जिल्ला प्रवेश गरेको पाइएमा जिल्ला प्रवेश गर्ने विन्दूमा निर्माण गरिएको मास क्वारेण्टाइनमा १४ दिन राखेर कोरोना परीक्षण गरी सम्बन्धित पालिकाको सम्पर्कमा पठाउने निर्णय भएको छ ।’ क्वारेण्टाइन अवधिभरको खानाको व्यवस्था सम्बन्धित व्यक्तिको घर ठेगाना रहेको पालिकाले व्यहोर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

बैठकले जिल्ला प्रवेश गर्ने प्रमुख नाकाहरु आरुघाट, घ्याल्चोक, मझुवा देउराली क्षेत्र, नयाँ पुल र तुरतुरेमा भएका मास क्वालेण्टाइनलाई थप व्यवस्थित गरी क्षमता विस्तार गर्ने पनि निर्णय गरेको छ ।

यसअघि व्यक्तिगत वा समूहगत रुपमा जिल्ला प्रवेश गर्नेलाई प्रवेश विन्दूमा रहेको क्वारेण्टाइनमा मात्र राख्ने निर्णय भएको थियो । जसले गर्दा क्वारेण्टाइनको क्षमता अपुग हुन सक्ने र एउटै पालिकालाई मात्र व्यवस्थापकीय भार परेकाले निर्णयलाई संशोधन गरिएको हो ।

त्यस्तै देशको विभिन्न भागबाट लुकी छिपि जिल्लाका विभिन्न झोलुंगे पुल हुदैँ भित्रने स्थानीयवासीहरुलाई नजिकको चौकीका प्रहरीको सहयोगमा वडा समितिले निजको स्थायी बासस्थान भएको पालिकासंग समन्वय गरी जिम्मा लगाउने र सो पालिकाले सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकले दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकामा व्यवस्थित क्वारेन्टाइन नभएको हुदाँ तत्काल व्यवस्थित मास क्वारेण्टाइनस्थल निर्माणको व्यवस्था मिलाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्