| शनिबार, बैशाख ८, २०८१

गोरखा छेपेटारका यी योहन्ना, जसले चार घण्टामै बनाएर चल्ला कोरल्ने मेसिन

 

गोरखा नगरपालिका वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेतले छेपेटारका एक युवाले अण्डा कोरल्ने मेसिन बनाएको बारे फेसबुकबाट सचित्र एउटा जानकारी जारी गरे । ती युवालाई भेटुँ लाग्यो ।

बिना जानकारी करिब तीन बजेतिर उनको घरमा पुग्दा उनी भर्खरै मेसिनले कोरलेका चल्ला खेलाउँदै थिए । कनिका खुवाउँदै थिए ।
परिचयपछि कुराकानी सुरु भयो ।

२३ बर्षका योहन्ना तामाङ पहिले पनि उत्तिसारो गाउँघर डुलिहिड्दैनथे । घरायसी कामबाट फुर्सद मिलेपछि बिभिन्न आविस्कारका कुराहरु गुगल र युटुवमा हेर्ने गर्थे । रिमोटबाट चल्ने गाडी, इलेक्ट्रिक मोटर, पानीजहाज, रिमोटबाटै उँड्ने चरो बनाउँथे । जिल्ला स्तरको विज्ञान सामग्री प्रदर्शनीमा रिमोटकन्ट्रोलबाट चल्ने पानी जहाज प्रदर्शन गरेर प्रथम पुरस्कार जितेका थिए ।

लकडाउनले झन् उनलाई घरभित्रै भुल्ने बनाइदियो ।

खोरमा चारवटा लोकल कुखुरा थिए । ५० वटा अण्डाहरु थिए । सबै खाएरै सक्ने चलन थियो । एउटा साधारण लहड चल्यो र चल्ला कोरल्ने तापक्रम कति चाहिने रहेछ भनेर गुगलमा खोजे । ९९.७ डिग्री रहेछ । क्लिनिकल थर्मोमिटर किनेर ल्याए र ओथारो बसेको कुखुरामा नापजाँच गरे । सही रहेछ । तापक्रमको र ६५ देखि ८५ सम्मको आर्द्रता मिलायो भने चल्ला निकाल्न सकिँदो रहेछ भन्ने निश्कर्षमा पुगे ।
प्लाई, प्लास्टिक र सिसाको प्रयोग गरेर एउटा बाकस तयार गरे । त्यहाँ तापका लागि सय वाटको बत्तीको जोडे । तापक्रम नियन्त्रण गर्ने थर्मोस्टेट जोडे । आद्र्रताका लागि पानी राखे । आद्र्रता मिलाउनका लागि ह्युमिडिफाइड पाइएन । बिकल्पमा सामान्य नाइक्रोम तार प्रयोग गरे । यति सब बनाउन उनलाई जम्मा चार घण्टा लाग्यो ।

‘सुरुमा बाकसमा चारवटा अण्डा राखेँ । आमाले चल्ला दिन मान्दै मान्नु भएको थिएन । तर मैले चल्ला निकाल्ने ग्यारेण्टी गरेपछि आमाले एउटा मात्रै चल्ला निकाल्न सक्यौ भने म तिमीलाई मान्छु भन्नु भयो । बेलाबेलामा बत्ती बालेर हेर्दा अण्डाभित्र चलेको देखिन्थ्यो । रमाइलो लाग्दै गयो । अनि अण्डा थप्दै गएँ । तापक्रम मिलेको छ कि छैन भनेर राती पनि उठेर हेर्ने गर्थेँ । पाँच मिनेट मात्रै तापक्रम बढिभयो भने सबै भ्रुण मर्न सक्थ्यो । बरु पाँच छ घण्टा तापक्रम कम भए बिग्रदैन । त्यसैले राती पनि उठ्दै हेर्दै गर्थेँ’ उनले भने, ‘अण्डा थप्दै गएँ, थप्दै गएँ । ५० वटा अण्डा राखेँ । तीनहप्तापछि ठ्याक्कै ४० वटा चल्ला निस्क्यो ।’

योहन्ना अहिले गोरखा क्याम्पसमा विज्ञान शिक्षा बिषय(चौथो बर्षमा) पढ्दैछन् । स्थानीय तारा माविबाट १० कक्षा उतीर्ण गरेपछि उनले लक्ष्मीबजारको महालक्ष्मी माविबाट विज्ञान विषयमा १२ कक्षा पास गरे ।

जापान जानका लागि भाषा सिकिसकेका थिए । जापानका लागि आवेदन पनि गरिसकेका थिए । भिसा आउने निश्चितप्राय थियो ।
‘लकडाउन नभएको भए यतिबेला त म उँडिसकेको हुन्थेँ’, योहन्नाले भने ।

तर चल्ला निस्किएपछि उनको जापान जाने मन मोडियो । ‘कोरोना भाइरसले गर्दाखेरि के के भयो के के भयो । बाहिर भएका साथीहरुको हालत, बिजोक देखेपछि बाहिर जाने रहर पुग्यो’, उनी भन्छन्, ‘त्यहाँ जाने साथीहरुले पनि यता नआइज भन्छन् । उता जान लाग्ने १५, १६ लाख रुपैयाँ नेपालमै लगानी गर्यो भने आफै नोकर, आफै मालिक भन्छन् । उता अर्काको थुकाइ, कुटाइ पिटाइ, घृणा सबै सहनु पर्छ । बिरामी भएँ भन्न पाइँदैन भन्छन् । त्यो भन्दा त बरु नेपालमै ठिक छ ।’ धेरै कमाउने लोभ नगर्ने आफ्नै परिबारसंग बस्ने उनको रोजाइ छ ।
ठूलो क्षमताको एग इक्यूवेटर बनाएर व्यवसाय गर्ने रहर उनले सुनाए । ‘एकहजार ५६ क्षमताको एग इन्क्यूबेटरलाई एकलाख जति पर्ने रहेछ । मैले बनाएँ भने १० हजार जतिमा बन्छ । अब यही मेसिन बनाएर गाउँलेको कुखुराको चल्ला कोरल्ने काम गर्छु । अस्ति गाउँमा गएको थिएँ । बाहिरबाट चल्ला बेच्न ल्याएका रहेछन् । गाउँमा चल्ला किन्नेको धुइरो थियो । मैले बनाएर बेचेँ भने त कस्सो नकिन्लान् र ?’

कुखुरा पालन व्यवसाय पनि गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्