| बुधबार, बैशाख ५, २०८१

फागुन १७ गते ‘लाईभ इन गोरखा’ हुँदै

कालीका साँस्कृतिक कला केन्द्र गोरखाले दारी ग्याङ्ग गोरखासँगको समन्वयमा ‘लाईभ इन गोरखा’ कार्यक्रम गर्ने भएको छ । मंगलबार कला केन्द्र गोरखाले पत्रकार सम्मेलन गर्दै आगामी फागुन १७ गते खेलकुद मैदान हरमटारीमा ‘लाईभ इन गोरखा’ कार्यक्रम आयोजना गरिएको जनाएको हो ।

कार्यक्रममा ‘द मन्त्र व्याण्ड चितवन’, ‘द गोरखा फ्युजन’, ‘जिएमजी व्याण्ड’, ‘द डिस्टुरेसन व्याण्ड’, ‘म्युजिकल मन्त्र व्याण्ड’ लगायतको प्रस्तुती रहने कालिका साँस्कृतिक कला केन्द्र गोरखाका अध्यक्ष बिक्रम तामाङले जानकारी दिए । तामाङका अनुसार कार्यक्रम फागुन १७ गते दिउँसो तीन बजेदेखि सुरु हुनेछ कार्यक्रममा प्रवेश शुल्क पाँच सय रुपैँया लाग्नेछ ।

हालसम्म कार्यक्रमका लागि सात सय जनाले टिकट खरिद गरिसकेको बताउँदै तामाङले दुई हजार भन्दा बढि दर्शकहरु कार्यक्रम अवलोकन गर्न आउने अपेक्षा रहेको उनले बताए ।  भ्रमण वर्ष २०२० मनाइरहेका बेला ऐतिहासिक धार्मिक स्थल गोरखामा आयोजना गरिएको सांगीतिक कार्यक्रमले यहाँको प्रचार प्रसार हुने अपेक्षा आयोजक कालीका साँस्कृतिक कला केन्द्रले जनाएको छ ।

कार्यक्रमका लागि आठ लाख ४५ हजार रुपैँया खर्च लाग्ने आयोजकले जनाएको छ । कार्यक्रम संचालनका क्रममा बचत भएको रकम सामाजिक काममा खर्च गरिने दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्र न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्