| शुक्रबार, साउन ३०, २०७७

१२ बुँदे घोषणा पत्र जारी गर्दै रेडक्रसको राष्ट्रिय गोष्ठी सकियो

नेपाल जुनियर तथा युवा रेडक्रसको ४० औँ राष्ट्रिय गोष्ठी गोरखामा सम्पन्न भएको छ । आईतवारदेखि सुरु भएको गोष्ठीले जुनियर युवा रेडक्रसको संगठनात्मक बिकासलाई थप प्रभावकारी बनाउन गठन तथा पुर्नगठन गरि वर्षभरी कार्यक्रम संचालन प्रभावकारी बनाउने निर्णय गरेको छ ।

वार्षिक प्रति जुनियर रेडक्रस रु ५ संकलन गर्ने, उपशाखा, जिल्ला शाखा, प्रदेश र केन्द्रिय समितिमा युवा परिषदले नियुक्त गरेका कम्तीमा दुई जना सहभागी गराउने, क्षमता अभिवृद्धी तालिम सञ्चालन गर्ने, वातावरण संम्बन्धी, भेषदभाव बिरुद्ध र रेडक्रस अभिमुखिकरण तालिम अनिवार्य रुपमा जुनियर तथा युवा रेडक्रस सर्कलले गर्नुपर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

जुनियर तथा युवा रेडक्रसकर्मी, शिक्षक नायकहरु रडक्रस कार्यक्रममा सहभागी हुँदा ुदुर्घटना बिमाको अनिवार्य ब्यवस्था गर्नुपर्ने, प्रविधिको प्रयोग गर्दै राष्ट्रिय कार्यक्रममा सामाजिक सञ्जालबाट वा रेकर्ड गरि नेपाल रेडक्रस सोसाईटीको वेवसाईटबाट अनिवार्य प्रशारण गर्ने ब्यवस्था गर्नुपर्नेमा घोषणा पत्रले जोड दिएको छ ।

गोष्ठीले जुनियर तथा युवा रेडक्रसको सहभागीता बढाउनुपर्ने, जुनियर तथा युवा जिल्ला संयोजकको राष्टिूय भेला गर्न सहयोग गर्नुपर्ने लगायतका संगठन सुधारका विषयमा ८ बुँदे सुझाब दिइएको छ । केन्द्रिय जुनियर रेडक्रस सोसाईटीका सदस्य हरिबहादुर बस्नेतको संयोजकत्वमा ११ सदस्यीय समितिले उक्त घोषणा पत्र तयार गरेको हो । गोरखा सदरमुकामको महेन्द्रज्योती माध्यामिक विद्यालयमा गोष्ठी भएको हो ।

कार्यक्रममा देशभरका जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधि, शिक्षक नायक, केन्द्रिय पदाधिकारी, समितिका सदस्य, दातृनिकायका प्रतिनिधि, जिल्ला शाखा मातहत उपशाखाका पदाधिकारी गरी तीन सय भन्दाबढिको उपस्थिती रहेका थियो । गोष्ठीले देशभरका रेडक्रसकर्मीको ज्ञानलाई ब्यवाहारमा उतार्न र स्वयमसेवी भावनालाई उजागर गर्न मद्धत पुगेको बताइएको छ ।

रेडक्रसले गत वर्ष गरेका गतिविधीको समिक्षा, भावी कार्यक्रम तय, सडक सुरक्षा, विपद् ब्यवस्थापन, र कृतिम घटना अभ्यास लगायतका बारेमा सैद्धान्तीक र ब्यवाहारिक अभ्यास गरिएको रेडक्रस केन्द्रका निर्देशक सुर्दशन अधिकारीले बताए ।

कार्यक्रममा सहभागी हुन गोरखा आएका रेडक्रसकर्मीलाई भ्रमण वर्षको संघारमा रहेकाले शहिदलखन गाउँपालिकाको शहिद लखन थापाको जन्मथलो, मनकामना मन्दिर, पालुङटार नगरपालिकाको लिगलिगकोट, गोरखा दरबार लगायत ठाउँको अवलोकन गराउने कार्यक्रम समेत रेडक्रस गोरखा शाखाले तयार गरेको सभापति भगवानबाबु मास्केले बताए ।

प्रतिक्रिया दिनुहोस्